होटल, रेष्टुरेन्ट तथा अथिति सेवाजन्य संस्थाहरुमा उठाउँदै आएको सेवा शुल्कबाट मजदुर युनियनहरुले पनि पाउने भएका छन्। होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत मजुदुर युनियन तथा व्यवसायीबीच भएको सम्झौता अनुसार सेवा शुल्कबापत उठ्ने १० प्रतिशतबाट युनियनहरुले पनि पाउने भएका हुन्।
आज भएको सम्झौता अनुसार ग्राहकहरुबाठ उठेको सेवा शुल्कलाई १०० प्रतिशत मानेर त्यसको ७२ प्रतिशत मजदुरलाई, २३ प्रतिशत सम्बन्धित होटल तथा रेष्टुरेन्टले पाउने छन्। त्यस्तै होटल संघ नेपाल र रेष्टुरेन्ट तथा वार एसोसिएसन(रेबान)ले २ प्रतिशत पाउने छन् भने बाँकी ३ प्रतिशत तीनवटा मजदुर युनियनले पाउने छन्।
होटल तथा रेष्टुरेन्टका प्रत्येक बीलमा १० प्रतिशत शुल्क लिइनेछ त्यस्तो रकमबाट सम्झौताअनुसार बाँडफाड गरिने छ। यसहिसाबले व्यवसायीका युनियनदेखि मजदुरका युनियनले पनि उक्त रकम हात पार्ने छन्।
यो भन्दा पहिले ६८ प्रतिशत मजदुरले पाउथे भने बाँकी ३२ प्रतिशत सम्बन्धित प्रतिष्ठानले राख्थे। सन् २००६ देखि लागू भएको सेवा शुल्क मजदुरले सबै आफूले पाउनुपर्ने माग गर्दै आएका थिए। भने व्यवसायीहरुले दिन मानेका थिएनन्।
भारतमा खारेज भइसकेको यो व्यवस्था नेपालमा भने युनियनहरु हावी हुनेगरी नयाँ सम्झौता भएको हो।
यो सम्झौतामा व्यवसायीहरुले प्रत्येक वर्ष ग्रेड, तलब तथा भत्ता कानूनअनुसार बढाउने तर मजदुरहरुले सामूहिक सौदाबाजी नगर्ने, गैरकानूनी बन्द हडताल नगर्ने सम्झौता भएको छ।
होटल एसोसिएसन अफ नेपाल, रेष्टुरेन्ट तथा वार एसोसिएसन अफ नेपाल र मजदुर युनियनहरु नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ,नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघबीच भएको १९ बुँदे सम्झौताअनुसार अवदेखि पर्यटन क्षेत्रका सबै सेवा प्रतिष्ठानमा सेवाशुल्क लागू हुने भएको छ।
केबलकार र बन्जिजम्पमा पनि टिकमा १० प्रतिशत सेवा शुल्क थप हुने छ।
यो सम्झौताले श्रम सम्बन्धलाई समधुर बनाउने होटल एसोसिएसन नेपालका अध्यक्ष अमरमान शाक्यको भनाइ छ। यो सम्झौताबाट व्यवासायी, मजदुर सबैलार्य लाभ हुने उनको विश्वास छ।