श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरेको छ।
श्रम मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय भएको बताए।
ती संस्थाहरुहरुले नाजायज र गैरकानुनी भएको मन्त्री विष्टले बताए।
एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने मन्त्री विष्टले बताए।
त्यस्तै अवैध रुपमा माइग्राम संस्था दर्ता भएको भन्दै मन्त्री विष्टले त्यसका लागि १२५ मलेसियन रिंगिट दर उठाउने काम गैरकानुनी भएको भन्दै त्यसलाई पनि खारेज गरिएको बताए।
मलेसिया जानका लागि पासपोर्ट संकलन गर्ने र दुतावाससम्म पुर्याउन वन स्टेप सेन्टर खडा गरी प्रतिकामदार २८ सय र उठाइदै आएको मुल्य अभिबृद्धि कर पनि खारेज गरिएको मन्त्री विष्टले बताए।
मलेसिया जान भिसा शुल्क जम्मा ७ सय लाग्नेमा अनलाइन प्रोसेस भन्दै भिएलएन नामक संस्थाबाट ३२ सय र कर असुल गरिएको भन्दै त्यसलाई पनि हटाइएको मन्त्री विष्टले बताए। यस भिसा शुल्क बाहेक अन्य शुल्क हटाइएको उनले बताए।
मन्त्रालयले निर्णय गरेर कुटनीतिक पहल थाल्नका लागि परराष्ट्र मन्त्रालयमा पठाइएको छ।
'मलेसियामा पनि सरकार परिवर्तन भएको छ, कामदारलाई आर्थिक भार पर्ने निर्णय हटाइएकोमा मलेसियन सरकारले पनि साथ दिन्छ भन्ने हाम्रो विश्वास छ', मन्त्री विष्टले भने ।
श्रममा लिने र दिनेबीच सहमति हुनुपर्नेमा एक पक्षीयबाट नेपालमा बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम लागु भएको भन्दै श्रम सचिव महेश प्रसाद दाहालले त्यसलाई सच्चाउनका लागि मलेसियन सरकारलाई आग्रह गरिने बताए।
श्रम मन्त्रालयले गरेको यस निर्णयलाई वैदेशिक रोजगार व्यवसायी संघले स्वागत गरेको छ। संघका अध्यक्ष रोहन गुरुङले आफूहरुले लामो समयदेखि खारेज हुनुपर्छ भन्ने निकायहरु खारेज हुनु सकरात्मक विषय भएको बताए।
यस प्रकारको निर्णयपछि देखा पर्ने केही समस्याहरुलाई पहल गर्न श्रम मन्त्रालय लागि पर्नेमा उनले विश्वास ब्यक्ति गरे।
बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम आजैबाट बन्द गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्रहरीलाई पत्र काटेर ती संस्थाहरुले अवैध रुपमा रकम संकलन गरिरहेको र बन्दका लागि सहयोग गर्न आग्रह गरेको छ।