ओमनका घरेलु कामदारका समस्या किन बढेको होला ?ओमनमा २० हजार भन्दा बढी नेपाली छन् । २० हजारमा ६० प्रतिशतजति घरेलु कामदार छन् । वैध तरिकाबाट गएका घरेलु कामदार कम समस्यामा परेका छन् । समस्यामा परेकाहरु सबै अवैध तरिकाबाट त्यहाँ पुगेकाहरु छन् ।
अवैध तरिकाबाट त्यहाँ गएर नै समस्या बढेको हो जस्तो मलाई लाग्छ। घरेलु कामदार हिंसामा पर्ने गरेका छन् । कोहि कोही काम गर्न सक्तिन भनेर दुतावासमा आउँछन् ।
कोही तलव थोरै भयो भन्छन् कोही घरमा छोराछोरी विरामी परे भनेर दुतावास गुहार्नेहरु छन् । हामीले एक वर्षमा ७५ जना भन्दा बढी घरेलु कामदारलाई उद्धार गरि स्वदेश पठाएका छौं । अहिले सेल्टरमा २० जना महिला छन् ।
अवैध बाटोबाट भनेको कहाँबाट जादाँ रहेछन् घरेलु कामदार ओमन ?सरकारले ओमनमा घरेलु कामदार पठाउन रोक लगाएको छ। रोक लगाएपछि धेरै महिलाहरु भारतको एयरपोर्ट, श्रीलंका, दुबइबाट ओमन आउने गरेका छन् ।
अनौठो के भने उनीहरुलाई झुक्याएर ओमन ल्याउने गर्दा रहेछन् । नेपाली दिदीबहिनीहरुलाई तपाईँ कसरी आउनुभयो भन्दा केही इराक जाने भनेर आएको, कोही दुबइ जाने भनेर आएको ओमन पो आइपुगेछन् भन्छन् ।
काठमाडौंकै विमानस्थल भएर पनि कत्ति दिदीबहिनीहरु ओमन आइपुगेका छन् । धेरैजसो भने दुबइसम्म जहाज र दुबइबाट स्थलमार्ग हुदैँ ओमन आइपुग्छन् । ओमनमा अवैध तरिकाबाट आएपनि पछि कागजात तयार गरेर बैधानिक बन्छन् ।
युवतीहरु ओमनमा ल्याउने समूह- समूह छ। कोही नेपालमै छन् । कोही भारतमा छन् । कोही ओमनमा छन् । हामीले सम्बन्धित निकायसँग समन्वय गर्ने गरेका छाैं । पाँच छ जना पक्राउ नै परिसके ।
घरेलु कामदार नेपाल सरकारले बन्द गरेपछि खोल्नका लागि पहल गर्नु पर्यो भनेर कोही आएनन् ?किन नआउनु, आए नि । तर म यस विषयमा तठस्थ छु । म खोल्नु पर्छ पनि भन्दिन । बन्द राख्नु पर्छ पनि भन्दिन् । सरकारले यस विषयमा निर्णय लिने हो । नीति नियम बनाउनेहरुले विज्ञहरुसँग छलफल गरेर यस विषयमा निर्णय लिनुपर्छ ।
खोल्ने हो भनेपनि त्यत्तिकै खोलेर हुदैन् । बलियो संयन्त्र, कानुनी आधार बनाएर मात्र खोल्नुपर्छ । खोल्नुहुन्न भनौं भने अहिले पनि अवैधबाटोबाट धेरै महिलाहरु आइरहेका छन् । दुख पाइरहेका छन् । यसलाई हामीले बिशेष चासाेका साथ हेर्न जरुरी छ।
रोजगारदाता देशहरुसँग सरकार जी टु जी (दुइ देशका सरकारले गर्ने सम्झाैता) गर्ने योजनामा छ, ओमनसँग सम्भव छ ?जी टु जी गर्न सकिन्छ। त्यसका लागि सरकारले फ्रेम र्वक बनाएर मलाई आवश्यक पहलका लागि अघि बढ् भन्नु पर्यो । सरकारले ग्रिन सिग्नल दियो भने म राष्ट्रिय हितका विषयहरु ध्यानमा राखेर पहल गर्छु ।
ओमनी अधिकारीसँग छलफल गर्न म तयारी अवस्थामा छु। यस विषयमा पनि बलियो नीतिको आवश्यक छ। दुइ देश बीचको सम्बन्धको कुरा हुन्छ। हाम्रा कामदार पनि दक्ष हुनुपर्छ ।
ओमनसँग श्रम सम्झौता त हुन सक्या छैन् जी टु जी के होला र ?श्रम सम्झौता अब हुन्छ। अबको ३ महिनाभित्र हुन्छ होला । श्रम मन्त्री गोकर्ण विष्ट ज्युले पनि बिज्ञहरुसहित ड्राफ्ट बनाउने काम भइरहेकाे बताउनुभएको छ।नेपाली कामदारका हकहितका पक्षहरु समेटेर राम्रो ड्राफ्ट बनाउनुपर्छ ।
ओमनसँग टुरिजम संझौता पनि हुदैँछ भन्ने हल्ला छ नि ?हो । हामी चाँडै नेपाल र ओमनबीच दुरिजम सम्झौता गर्दैछौ । सरकारी लेभलमा ओमनले अब नेपालको टुरिजम प्रर्बद्धन गर्छ । हामी पनि ओमनको गछौं । हालसालै गर्ने कुरा थियो। यो चाडैँ हुन्छ।
यसका साथै कुटनितिक र सरकारी अधिकारीको भिसा छुट, अोमनकाे नेसनल म्युजियम र नेपालको संग्राहलय लगायतका विषयमा पनि ओमन सरकारसँग छिट्टै एमओयु हुदैँछ।
ओमनसँग उत्कृष्ट द्धिपक्षीय सम्बन्धका स्थापित गर्नका लागि टुरिजम, ब्यापार, एजुकेसन लगायतका विषयहरुमा पनि ध्यान दिएको छु । म ओमनका लागि पहिलो राजदुत भएका कारण झन बढी जिम्मेवारी मेरो काँधमा थपिएको छ।
ओमनसँग यस बाहेक अरु केही सम्भावना देख्नुभएको छ?ओमनबाट नेपालमा लगानी भित्र्याउने सम्भावना धेरै छ। नेपालको ब्यापार घटाउनलाई प्रमुख गन्तब्य अाेमन बन्न सक्छ। ब्यापार बढाउनका लागि बिजनेश टु बिजनेश , पिपुल टु पिपुल र गभर्मेन्ट टु गभर्मेन्ट सम्झाैता हुन जरुरी छ।
नेपालका बारेमा हामीले मस्कटमा प्रचारप्रसार गरेपछि ओमनीहरु नेपाल घुम्न आउने क्रम बढेको छ। ओमन ग्यास र तेलमा धेरै धनी देश हो। ओमनबाट ग्यास र तेल ल्याउने सम्भावनासमेत छ।
सेतोपाटीका प्रकाश ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश