नेपाली उत्पादनमा भारतीय गुणस्तर चिह्न (आइएस)को प्राप्ति तथा नवीकरण प्रक्रिया अघि बढेसँगै चालु वर्षमा नेपालको निर्यात थप बढ्ने भएको छ।
अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा बढी निर्यात भएको निर्माण सामग्रीको भारतीय बजारमा प्रवेश यो वर्ष सुस्त भएको थियो। तर, चैत महिनाबाट यी सामग्रीको निर्यात फेरि बढ्न थालेको छ। केही समयदेखि रोकिएको सिमेन्ट, जस्तापाता, स्टिल वायर, प्लाइउडको निर्यात विस्तार भएको छ।
चालु वर्षमा खाने तेल (भटमास र सूर्यमुखी) को कारण निर्यात ५७ प्रतिशतले बढेको छ। यो तेस्रो मुलुकबाट अर्ध प्रशोधित आयात गरी नेपालमा प्रशोधन गरिन्छ र भारतमा निर्यात गरिन्छ।
तर, चालु वर्षमा निर्माण सामग्रीको निर्यात भने निकै घटेको थियो। चैतदेखि भारतीय बजारमा निर्माण सामग्रीहरूको प्रवेश बढेसँगै निर्यात थप विस्तार हुने देखिएको हो।
भारतले नयाँ गुणस्तर चिह्न दिन ढिला गरेको तथा पुरानोको पनि समयमा नवीकरण नगरेको कारण निर्यातमा समस्या आएको थियो।
फागुन महिनादेखि द्रुत गतिमा नयाँ प्राप्ति तथा नवीकरणको काम भएको उद्योगीहरूको प्रतिक्रिया छ।
'आइएस प्राप्तिमा ढिलाइ भएको कारण अघिल्लो तीन महिनाजति प्लाइउड निकै कम निर्यात भयो, एक महिना त रोकियो नै,' नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले भने, 'पछिल्लो समयमा हाम्रो उद्योग मन्त्रालयले निकै सहजीकरण गरिदियो ब्युरो अफ इन्डिया स्ट्यान्डर्डको टिम पनि नेपाल आएर फटाफट उद्योगको निरीक्षण गरेर गुणस्तर चिह्न दियो। अहिले आइएस पाउने धेरै उद्योगले निर्यात सुरू गरेका छन्।'
ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) ले दिने भारतीय गुणस्तर चिह्न (इन्डियन स्ट्यान्डर्ड) लिने उद्योगको संख्या पनि बढेको छ।
बिआइएसको तथ्यांक अनुसार अहिले विभिन्न प्रकारका उत्पादनलाई गरी १२५ वटा उद्योगलाई भारतीय गुणस्तर चिह्न दिइएको छ। त्यसमध्ये केहीको नवीकरण तथा निर्यात नियमिततामा समस्या देखिएको छ। ११३ वटा उद्योगका उत्पादनमा भने आइएस फेरि सुरू भएको बिआइएको सूचीमा देखिएको छ।
आइएस पाउने अधिकांश उद्योग निर्माण सामग्रीसँग केन्द्रित रहेका छन्। सिमेन्टतर्फ पाल्पा, अर्घाखाँची, स्मार्ट, सर्वोत्तम, रिद्धिसिद्धि, घोराही, नेपाल सालिमार, आरएमसी, शिवम् र बालाजी सिमेन्ट उद्योगले भारतीय गुणस्तर चिह्न पाएका छन्।
यी सबै सिमेन्टले डेढ वर्षघि अघिनै चिह्न प्राप्त गरे पनि नवीकरण समयमा नभएको कारण पछिल्ला महिनाहरूमा भारतीय बजारमा प्रवेश पाएका थिएनन्। गुणस्तर चिह्न नवीकरण भएसँगै पुन: भारतीय बजारमा बिक्री सुरू भएको व्यवसायीहरूले बताएका छन्।
सबैभन्दा धेरै भारतीय गुणस्तरच चिह्न पाउने उद्योगमा फलाम, स्टिल तथा प्लाष्टिकसँग सम्बन्धित उद्योगहरू (डन्डी, जस्तापात, पिभिसी तारलगायत) छन्।
जस्तापातासँग सम्बन्धित उद्योगहरूमा आरती स्पात, राजेश मेटल, मैनाबत्ती स्टिल, हुलास स्टिल, गोल्यान स्पात, गोयल स्पात, नारायणी स्पात रहेका छन्।
डन्डी तथा अन्य सामग्रीतर्फ काठमाडौं स्टिल श्री स्टिल, लक्ष्मी स्टिल, प्रिमियर स्टिल, विजयश्री स्टिल, स्वस्तिक रोलिङ मिल, अम्बे स्टिल, पशुपति आइरन, जय अम्बे स्टिल, अशोक स्टिल र मंगलम इन्ड्रष्टिज छन्।
स्टिल वायरतर्फ हुलास वायर, जगदम्बा स्टिल, अम्बे स्टिल रहेका छन्। पिभिसी तर्फ लिटमस इन्ड्रष्ट्रीजले आइएस पाएको छ।
सिसातर्फ विराज ग्लासले पाएको छ। सडकमा बिच्छ्याउने ब्ल्क्स तर्फ एसियान कंक्रिटोले पाएको छ।
६ वटा प्लाइउड उद्योगले पनि भारतीय गुणस्तर चिह्न पाएका छन्। जसमा सेञ्चुरी, ग्रिन, भुसाल, श्याम, एभरेष्ट र सवारिया रहेका छन्। मयुर लगायतका एक दर्जन उद्योग आइएस लिने प्रक्रियामा रहेका छन्।
त्यस्तै जुत्ता चप्पलतर्फ चार वटा उद्योगले आइएस प्राप्त गरेका छन्। करिब दुई दर्जन उद्योग नयाँ आइएस लिने प्रक्रियामा छन्।
अहिलेसम्म किरण सुज (गोल्डस्टार), जय श्री (म्याजिक), मोर्डन सिल्पर्स र पल्स फेसन सलुसनले आइएस प्राप्त गरेका छन्।
'हाम्रो जुत्ता चप्पलको लागि भारतीय बजार प्रमुख हुन सक्ने देखिन्छ। गोल्डस्टारले त लामो समयदेखि भारतलाई नै मुख्य बजार बनाएर निर्यात गरिरहेका छ। अरू धेरै उद्योगहरू आइएस लिने प्रक्रियामा लाग्नु भएको छ,' जुत्ता उत्पादक संघका अध्यक्ष रूद्र न्यौपानले भने।
रघुपति जुट मिल र अरिहान्त मिलले झुट ब्यागको लागि आइएस प्राप्त गरेका छन्।
त्यस्तै तीन वटा धागो उद्योगले पनि आइएस प्राप्त गरेका छन्। जसमा जगदम्बा स्पिनिङ, रिलायन्स स्पिनिङ र त्रिवेणी स्पिनिङ रहेका छन्।
अझै सेनेटरी प्याडको आइएस नवीकरण भएको छैन। यी उद्योगले पनि वार्षिक एक अर्ब रूपैयाँ बढीको सेनेटरी प्याड भारत निर्यात गर्ने गरेका थिए।
नवीकरण नभएको कारण अहिले रोकिएको छ।
'आइएस नवीकरणमा ढिलाइ भएको कारण अहिले भारत निर्यात रोकिएको छ। अन्य किसिमका उत्पादनको नवीकरण भएको कारण अब हाम्रो पनि छिटै होला,' सेनेटरी प्याड उत्पादक संघका अध्यक्ष डोलनाथ अधिकारीले भने।