पछिल्लो एक वर्ष (सन् २०२४) मा स्थायी बसोबास गर्ने उद्देश्यले ६६ हजार ८३१ जना नेपाली विदेश गएका छन्। यसअघि सन् २०२३ मा ७० हजार ९१५ जना नेपाली यही उद्देश्यले विदेश गएका थिए।
अध्यागमन विभागले विदेश जाने क्रममा निकालेको तथ्यांक अनुसार यस्तो देखिएको हो। यस आधारमा स्थायी बसाइँँसराइ गरेर, अस्थायी बसोबासका लागि तथा पारिवारिक भेटघाटको लागि विदेश जाने नेपालीको संख्या बढी देखिन थालेको छ।
सन् २०२४ मा अस्थायी बसोबासको लागि एक लाख ८२७ जना विदेश गएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ। त्यस्तै पारिवारिक भेटघाटको लागि भन्दै एक लाख ३१ हजार ७८५ जना विदेश गएको देखिन्छ। डिपेन्डेन्ट (आश्रित भएर जाने) ३३ हजार ९०८ जना रहेको तथ्यांकले देखाएको छ।
सन् २०२३ सँग तुलना गर्दा स्थायी बसोबासमा जानेको संख्या साढे तीन हजारले घटेको छ। पारिवारिक सम्बन्धको कारण भेटघाटमा जानेको संख्यामा कमी आएको छ। तर, अस्थायी बसोबास र आश्रित भएर जानेको संख्या भने बढेको छ।
हालसम्म विदेशमा स्थायी बसाइँँसराइ गरेको जनसंख्या कति छ भन्ने आधिकारिक तथ्यांक पाइँदैन। राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार पाँच सय ९२ जना नेपाली विदेशमा रहेको देखाएको छ।
यसमध्ये १५ लाख ५५ हजार नौ सय ६१ परिवारका १७ लाख ९९ हजार नौ सय ७५ जना पुरूष र तीन लाख ९० हजार नौ सय १७ जना महिला छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका उप-प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीका अनुसार घरपरिवार सर्वेक्षणका क्रममा प्रायः कहाँ बसाइँ छ भन्ने आधारमा यस्तो तथ्यांक निकालिएको हो।
'स्थायी वा अस्थायी बसाइँँसराइको आधारमा नभई घरपरिवार सर्वेक्षणको क्रममा अनुपस्थित संख्याको अक्सर बसाइँ कहाँ हुन्छ भन्ने आधारमा यस्तो तथ्यांक निकालेका हौं,' रेग्मीले भने।
अध्यागमन विभागका अनुसार सन् २०२४ मा १६ लाख ७४ हजार २२५ नेपाली विदेश पुगेको देखिन्छ। यसको अर्थ १६ लाख ७४ हजार २२५ जना नै विदेश गएको हो भन्ने अर्थ नलाग्ने अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिमालले बताए।
'एक जना मानिस १० पटक विदेश जान्छ र १० पटक नेपाल आउँछ भने उसको जानेमा १० र आउनेमा १० संख्या जोडिन्छ, हामीले राखेको तथ्यांकले कति पटक भन्ने अर्थ राख्छ,' रिजालले भने।
स्थायी बसोबास गर्ने उद्देश्यले गएका र विद्यार्थी तथा रोजगारी भिसामा गएकाहरू भने तुलनात्मक रूपमा एकै वर्षमा कम फर्किएका हुन्छन्। अन्य प्रयोजनमा गएकाहरू भने एक वर्षमा धेरै पटक आउने जाने गरेका हुन्छन्। गत वर्ष विदेश गएकोमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात ८ लाख ५६ हजार ८२२ जना वैदेशिक रोजगारी गर्ने उद्देश्यले गएका छन्।
रोजगारी, स्थायी बसाइँँ वा अध्यनको लागि गएका बाहेक अन्य सबै करिब एकै वर्षमा फर्किएका हुन्छ। कति एकै वर्षमा धेरै पटक आवतजावत गरेका हुन्छन्।
रोजगारी तथा अध्ययनको क्रममा गएकाहरू भने विगतमा वर्षमा गएका फर्कने तथा त्यसवर्ष गएका बस्ने हुन्छ। पछिल्लो तीन चार वर्षको प्रवृत्ति अनुसार एक वर्षमा औषत रूपमा तीन लाख मानिस आउने भन्दा जाने बढी देखिन्छन्।
यो गैर आवसीय नेपाली, जहाज चालक दल तथा पर्यटकहरू बाहेकको तथ्यांक हो।
कति के उद्देश्यले गए विदेश?
सन् २०२४ मा विदेश गएका नेपालीले देखाएको कारण र गएको पटक तथा संख्या |
कारण | संख्या तथा गएको पटक |
वैदेशिक रोजगारी | आठ लाख ५६ हजार ४२२ |
पर्यटन तथा धार्मिक भ्रमण | दुई लाख ७४ हजार ४२८ |
पारिवारिक भेटघाट | एक लाख ३१ हजार ७९६ |
अध्ययन | एक लाख १९ हजार ४०९ |
अस्थायी बसोबास | एक लाख ८२७ |
स्थायी बसोबास | ६६ हजार ८३५ |
सभा/सेमिनार तथा तालिम | २४ हजार २६२ |
डिपेन्डेन्ट | ३३ हजार ९०९ |
स्वास्थ्य उपचार | १८हजार ७१३ |
व्यवसाय | २० हजार १०१ |
औपचारिक भ्रमण | १३ हजार २२९ |
श्रम स्वीकृति नलिई रोजगारी | आठ हजार ८६ |
युएन मिसन | ५ हजार ८४७ |
खेलकुद | दुई हजार ६८० |
सांस्कृतिक कार्यक्रम | ५ हजार ७०३ |