नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबिएफ) को दोस्रो बैठक काठमाडौंको चन्द्रागिरीमा सम्पन्न भएको छ।
दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए।
मञ्चको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत तथा व्यवहारिक सुधारसहित अघि बढ्नुपर्ने बताए।
गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको उनले बताए।
यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायत भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषय उठान गरेका थिए।
जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायत विषयमा छलफल गरेका थिए। त्यस्तै जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र सञ्जाल, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाइ उच्च बिउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरुमा छलफल गरी सहजीकरण गर्ने सहमति भएको छ।
सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
दोस्रो बैठकमा भएका सहमतिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ। भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द वहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरे।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गरे। जेबिएफ बैठकमा भएका सहमति दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने उनले बताए। त्यस्तै दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने उनले बताए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चको बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए।
भारतका वाणिज्य सचिव सुनिल वर्थवालले जेबिएफमा उठेका एजेन्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सहमति कार्यान्वयनका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दाहरुमा यो बैठक महत्वपूर्ण रहेका बताउँदै यहाँ उठेका विषयहरूमा सहजीकरणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।
सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल र भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताइन्।
यस्तै भारतीय पक्षबाट एन. सुनिल कुमारले नेपाल र भारतबीच सडक, रेल र हवाई सञ्जालमा सुधार भइरहेकाले आउने दिनमा थप सहज हुने बताए।
मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।