नेपालभर एक लाख ४२ हजारभन्दा बढी भोजन सेवा संलग्न प्रतिष्ठान रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षणले करिब डेढ लाख यस्ता प्रतिष्ठान रहेको देखाएको हो।
सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानहरूको संख्या सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा १ लाख ४२ हजार २२३ प्रतिष्ठानहरू सञ्चालनमा रहेका पाइएको हो।
यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५२ हजार बढी प्रतिष्ठान पाइएको छ।
सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ११० यस्ता प्रतिष्ठान छन्।
सर्वेक्षणको नतिजा अनुसार प्रतिष्ठानहरूमा संलग्न व्यक्तिहरूको संख्या ३ लाख ८७ हजार ७४७ रहेका छन्।
प्रतिष्ठानहरूमा संलग्न व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानमा सक्रियरूपले कार्यरत व्यवसायी तथा साझेदारहरू, बेतलबी पारिवारिक सदस्यहरू र तलबी रोजगार व्यक्तिहरूलाई बताइएको छ।
प्रतिष्ठानहरूमा रोजगार व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानबाट नियमित रुपले तलब/ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिहरूलाई बुझ्नु पर्दछ। सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा रोजगार व्यक्तिहरूको संख्या १ लाख ६ हजार ४५९ रहेका छन्।
आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूको लागि तलब ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब २० अर्ब ६१ करोड ५० लाख रहेको छ। यो एक वर्षको तलब खर्च हो।
सन्दर्भ अवधिमा तलबी कामदारहरूको लागि आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले खर्च गरेको कुल रकम, नगद, जिन्सी र अन्य सुविधाहरू समेत) भन्ने बुझाइएको छ।
आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको रकम लागतको रूपमा खर्च गरेको पाइएको छ।
करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको छन्। यस हिसाबले सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेका छन्।
आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको छ।
त्यस्तै प्रतिष्ठानहरूमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशतले प्रतिष्ठानहरूको ऋण नभएको/नलिएको देखिएको छ।