हालै नेपालमा गएको बाढी पहिरोको कारण नेपालमा एक अर्ब ३० करोड डलर बराबरको क्षति भएको भन्दै भारत र नेपालबीच जलवायुका चुनौती सामना गर्न सहकार्य हुनुपर्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन्।
'भारत र नेपालको भौगोलिक अवस्थिति मात्रै उस्तै छैन, हामीले नदीनालाको साझा प्रयोग गरिरहेका छौं,' परराष्ट्र मन्त्री राणाले भनिन्, 'त्यसैले जलवायु परिवर्तनको चुनौती मिलेर सामना गर्दै दिगो भविष्य निर्माणमा लाग्नु पर्छ।'
भारतको नयाँ दिल्लीमा चलिरहेको भारत नेपाल आर्थिक सम्मेलनमा उनले यस्तो बताएकी हुन्।
उनले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको ट्रान्जिट मात्र नभई व्यापार साझेदार र वैदेशिक लगानीकर्ता भएको उल्लेख गरिन्। उनले सबै फोरममा छलफल गर्न नसकिने विषयहरू समेत यस्ता सम्मेलनहरूमा छलफल गर्ने वातावरण सृजना हुने बताइन्।
उनले भनिन्, 'भारतीय नेतृत्वले दुई मुलुकबीच आर्थिक सम्बन्ध स्थापनाको लागि गरेको सहयोगको धन्यवाद दिन चहान्छु।'
नेपालले हालै गरेको मुलुकको सार्वभौम रेटिङमा बिबि माइनस पाएको जानकारी गराउँदै उनले भारतीय निजी क्षेत्र र व्यवसायीलाई लगानीको लागि आग्रह गरिन्।
अहिले जलविद्युत, सडक पूर्वाधार, रेल वे जस्ता क्षेत्रमालगानी गर्ने अवसर रहेको बताउँदै यसमा लगानी गरेर लाभ उठाउन सक्ने उनले बताइन्।
कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा.अच्युत वाग्लेले भारतका प्राफेसरहरुले नेपालबारे बनाउने धारणा र वास्तविकतामा निकै फरक पर्ने गरेको बताए।
उनले भारतीय नीति निर्माताको धारणा पनि बाहिर आउने कुराहरूमा निर्भर रहेको बताउँदै स्थानीय तहमै अध्ययन अनुसन्धानको आवश्यकता रहेको औंल्याए। यस्ता सम्मेलनहरूले नै यसको लागि प्रक्रिया सुरू गर्ने वाग्लेले बताए।
उनले अहिले नेपालमा देखिएको जलवायु परिवर्तनको असर नेपालको मात्रै समस्या नभएको र यो सिंगो विश्वकै समस्याको विषय भएको बताए।
विकसित मुलुक मुलुकहरूले अहिले पनि आफूले प्रयोग गर्दै आएका सुविधा छाड्न नसकिरहेको बताउँदै यसको विकल्पमा नेपाल लगायतका मुलुकबाट कार्वन ट्रेड (व्यापार) हुन सक्ने पनि बताए।
सम्मेलनमा भारतीय संस्था इग्रोका प्रमुख कार्यकारी अधिकृत डा.चरन सिंहले क्षेत्रीय सहकार्य आर्थिक उन्नतिको लागि निकै महत्त्वपूर्ण रहेको बताए।
सिंहले कुनै राष्ट्रले कम्तीमा पनि एक वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति राख्नुपर्छ भनेर भारतले १९९० को दशकमा नै गरेको अध्ययनबाट निष्कर्ष निकालेको जानकारी दिए।
उनले यस्ता विषयमा निरन्तर अध्ययन हुनुपर्ने र यस्ता अध्ययन आफ्नो दक्षिण एसियाली मुलुकहरूमा साझा गराउनु पर्ने धारणा राखे।
काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतीय संस्था इग्रो फाउण्डेसनको आयोजनामा सम्मेलन चलिरहेको हो।