लगातार दुई आर्थिक वर्षदेखि घटेको आयात व्यापार भदौ महिनामा आएर केही सुधार देखिएको छ।
पछिल्लो एक महिना (भदौ) मा मात्रै एक खर्ब ३४ अर्ब रूपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ।
भदौ दोस्रो साताबाट दसैं लक्षित सामानहरूको आयात बढेको कारण पनि आयातमा केही सुधार आएको देखिएको छ।
दुई वर्षदेखि घटेको आयात चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा पनि घटेको थियो। साउन महिनामा आयात ०.६७, निर्यात ९.६३ र समग्र व्यापार १.५२ प्रतिशतले घटेको थियो। भदौमा आयात व्यापार १.०८ प्रतिशतले बढेको छ।
यो गत वर्षको साउन र भदौ महिनामा भएको आयातभन्दा बढी हो।
निर्यातमा आएको कमी साउनको तुलनामा घटेको छ। साउनको मात्रै निर्यातमा ९.६३ प्रतिशतले कमी आएकोमा साउन र भदौको जम्मा निर्यातमा भने ५.१२ प्रतिशतले मात्रै कमी आएको छ।
पछिल्लो एक महिनामा एक खर्ब ३४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। १४ अर्ब ५३ करोड रूपैयाँको निर्यात भएको छ।
दुई महिनाको अवधिमामा नेपालको दुई खर्ब ३७ अर्ब रूपैयाँको व्यापार घाटा छ।
नेपालले अहिले १२३ राष्ट्रसँग व्यापार गरेकोमा २१ वटा देशसँग मात्रै आयातको तुलनामा निर्यात बढी भएको छ। नेपालले अफगानस्तानसँगको अन्तर्राष्ट्रिय व्यापार सबैभन्दा बढी नाफा गरेको छ। अफगानस्थानसँग एक रूपैयाँको पनि आयात भएको छैन भने साढे २० करोड रूपैयाँ बराबरको सामान निर्यात भएको छ।
रकमगत आधारमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। दुई महिनामा भारतबाट एक खर्ब ६० अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने करिब १६ अर्ब रूपैयाँको निर्यात भएको छ।
साउन र भदौ महिनामा समग्रमा आयात व्यापार सामान्य बढे पनि भन्सार राजस्वमा १० प्रतिशतले बढेको छ। दुई महिनामा ७४ अर्ब ३१ करोड रूपैयाँको भन्सार राजस्व संकलन भएको छ। गत वर्ष यो समयमा ६७ अर्ब ४७ करोड रूपैयाँको यस्तो राजस्व संकलन भएको थियो।
पछिल्लो महिना गाडी, लत्ता कपडा तथा फलफूलको आयात बढेको भन्सार अधिकारीहरूले बताएका छन्।
दसैं नजिकिएसँगै विद्युतीय कार तथा अन्य सवारी साधनको आयात बढेको छ। दुई महिनामा १६ अर्ब ७४ करोड रूपैयाँ बराबरको गाडी र त्यससँग सम्बन्धित पाटपुर्जा आयात भएका छन्। गत वर्ष १० अर्ब ८२ करोड रूपैयाँको मात्रै आयात भएको थियो।
विशेषगरी नेपालमा छिमेकी देश चीनबाट विद्युतीय सवारी साधनको आयात बढी हुने गरेको छ। साउन र भदौ महिनामा रसुवा भन्सार नाकाबाट १२ सय ३० वटा गाडी आयात भएको छ। चीनबाट आयात हुने अधिकांश गाडी रसुवा नाका हुँदै भित्र्याउने गरिएको छ।
पछिल्लो दुई महिनामा भित्रिएका गाडीमध्ये २३ वटा मात्रै डिजेलबाट चल्ने गाडी आयात भएका छन्। १२ सय सात वटा गाडी विद्युतबाट चल्ने आयात भएको भन्सार कार्यालय रसुवाले जनाएको छ।
साउन महिनामा माइक्रोबस, मिनिबस, माइक्रो, ट्रक, ट्याङ्कर तथा कार गरी जम्मा १६९ वटा मात्रै गाडी यो नाकाबाट आयात भएका थिए।
भदौमा भने एक हजार ५९ वटा गाडी भित्रिएको भन्सार कार्यालयले जनाएको छ।
पछ्लिो दुई आर्थिक वर्ष लगातार नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको थियो।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा आयात १.१६ प्रतिशत, निर्यात ३ प्रतिशत र समग्र व्यापार १.३३ प्रतिशतले गिरावट आएको छ।
कतिपय वस्तुको मागमा आएको कमी तथा धेरै उपभोग हुने पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी, निर्माण सामग्रीको कच्चा पदार्थ आयात गरी तयारी वस्तु नेपालमा बन्न थालेपछि यसको असर अन्तर्राष्ट्रिय व्यापारमा देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १७ खर्ब ४५ अर्बको समग्र व्यापार भएको छ। पछिल्लो दुई वर्षदेखि मागमा व्यापक कमी आएको नेपाल उद्योग परिसंघको अध्ययन प्रतिवेदनले देखाएको थियो।
भन्सार तथ्यांकअनुसार पछिल्लो दुई वर्षको अवधिमा समग्र अन्तर्राष्ट्रिय व्यापारमा तीन खर्ब ७४ अर्ब रूपैयाँले कमी आएको छ। जसमध्ये निर्यात ४८ अर्ब घटेको छ भने आयात तीन खर्ब २८ अर्ब रूपैयाँले घटेको छ।