यो वर्ष धान रोपाइँ ९८ प्रतिशत माथि भएको छ। अहिले १३ लाख ९८ हजार ९८५ हेक्टर जमिन धान खेतीयोग्य छ।
यसमध्ये १३ लाख ७७ हजार २१६ हेक्टर जमिनमा साउन मसान्तभित्र नै धान रोपाइँ भएको कृषि विभागको तथ्यांक छ।
उल्लेख्य मात्रामा भएको धान रोपाइँले उत्पादन वृद्धिको साथै समग्र अर्थतन्त्रमा पनि ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
विगतका वर्षहरूमा धान रोपाइँको लागि योग्य जमिनमध्ये ९८ प्रतिशत माथिको रोपाइँ विरलै मात्रै भएको कृषि विज्ञहरूको भनाइ छ।
हरेक वर्ष ९० प्रतिशतभन्दा धेरै क्षेत्रफलमा धान रोपाइँ भएको छ। तर, ९५/९६ प्रतिशत माथिको धान रोपाइँ विरलै वर्षहरूमा मात्रै भएको पाउन सकिन्छ।
लामो समयदेखि धान उत्पादन तथा उत्पादकत्वको तथ्यांक विश्लेषण गर्दै आएका कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, 'यो वर्ष धान रोपाइँ शत प्रतिशत नै भन्दा पनि हुन्छ। किनकी धान खेतीयोग्य जमिनमध्ये पानीको कारणले धान रोपाइँ रोकिएको कहीँ छैन।'
वर्ष २०८० मा मात्रै ९२ प्रतिशत धान रोपाइँ भएको थियो। वर्ष २०७९ मा ९५ प्रतिशत धान रोपाइँ भएको थियो।
धान खेतीयोग्य जमिनमध्ये ९८.४ प्रतिशत जग्गामा रोपाइँ सकिए पनि अघिल्लो वर्षको तुलनामा खेतीयोग्य जमिन भने घटेको छ। २०८० सम्म खेतीयोग्य जमिन १४ लाख ८८ हजार हेक्टर रहेको थियो। अहिले करिब १४ लाखलाई मात्रै गणना गरिएको छ।
तर, भएको जग्गामध्ये कतिमा रोपाइँ गरियो र कहिले रोपियो भन्ने कुराले उत्पादनमा ठूलो प्रभाव पार्ने कृषि विभागका निर्देशक अरूण काफ्ले बताउँछन्। यो वर्ष असारमा नै धेरै रोपाइँ भएको कारण यसले उत्पादनमा ठूलो प्रभाव पार्ने उनको भनाइ छ।
'मौसमले निकै साथ दियो, समयमा नै रोपाइँ भयो, अब रोग कीराको समस्या देखिएन भने यो वर्ष धान उत्पादन निकै राम्रो हुनेछ,' कृषि विभागका निर्देशक काफ्लेले भने।
कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले पनि समयमै मनसुनका साथै यो वर्ष तुलनात्मक रूपमा मलको समस्या नदेखिएको कारण धानको उत्पादन धेरै राम्रो हुने अपेक्षा गर्न सकिने तर्क गर्छन्।
यो वर्ष असार महिनामा मात्रै ६८ प्रतिशत धान रोपाइँ सकिएको थियो जबकि गत वर्ष असार महिनाको रोपाइँ २२ प्रतिशत रहेको थियो।
कहाँ कति धान रोपाइँ?
प्रदेश | धान रोपाइँ भएको प्रतिशत | धान रोपाइँ हुने क्षेत्रफल हेक्टरमा | धान रोपेको क्षेत्रफल हेक्टरमा |
कोशी प्रदेश | ९९.१ | २७६३८७ | २७३८७३ |
मधेश प्रदेश | ९७.३ | ३८६१५० | ३७५६१५ |
बाग्मती प्रदेश | ९९.२ | ११२२७३ | १११३५१ |
गण्डकी प्रदेश | ९७.८ | ९६०५३ | ९३९२२ |
लुम्बिनी प्रदेश | ९८.३ | ३११६४३ | ३०६३७७ |
कर्णाली प्रदेश | ९९.२ | ४१९०४ | ४१५७८ |
सुदूरपश्चिम प्रदेश | १००.० | १७४५७६ | १७४५०१ |
कुल जम्मा | ९८.४ | १३९८९८५.७३ | १३७७२१६.५२ |
गत वर्ष जम्मा ९२ प्रतिशत धान रोपाइँ हुँदा पनि धान उत्पादन भने अहिलेसम्मकै उच्च भएको थियो। पछिल्लो वर्षहरूमा धानको उत्पादन प्रतिहेक्टर ३.९८ मेट्रिक टन भएको थियो।
जस अनुसार गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष गत वर्षकै बराबरको उत्पादकत्व हुँदा पनि धानको उत्पादन बढ्ने देखिन्छ। यद्यपि समयमा नै धान रोपाइँ भएको र मलको समस्या नदेखिएको कारण यो वर्ष उत्पादकत्वमा पनि उल्लेख्य सुधार आउने कृषिका अधिकारीहरू बताउँछन्।
समयमा नै मनसुन हुँदा र धानको उत्पादन बढ्दा यसको ठूलो प्रभाव आर्थिक वृद्धिदरमा पुग्ने तथ्यांकका अधिकारीहरू बताउँछन्।
'समयमा नै मनसुन भयो र धानको उत्पादन राम्रो भयो भने हाम्रो आर्थिक वृद्धिदरमा नै ठूलो लाभ हुन्छ, यो पटक पनि यसको लाभ लिन सकिने देखिन्छ,' राष्ट्रिय तथ्यांक कार्यालयका पूर्व निर्देशक ईश्वरी भण्डारीले भने।
नेपालको अर्थतन्त्रमा कृषि वन तथा मत्स्य क्षेत्रको योगदान २४.९ प्रतिशत रहेको छ। त्यस्तै कृषि वन तथा मत्स्य क्षेत्रमा धानको मात्रै योगदान १६ प्रतिशतभन्दा धेरै छ। समग्रमा अर्थतन्त्रको पूर्ण आकारमा धानको मात्रै योगदान करिब ५ प्रतिशत हुन्छ।
यसमध्ये करिब चार प्रतिशत बर्खे धानको योगदान र एक प्रतिशत चैते धानको योगदान हुन्छ। अर्थतन्त्रको आकार मापन गर्ने १८ क्षेत्रमध्ये आठ वटा क्षेत्रको मात्रै पाँच प्रतिशत माथिको योगदान रहने गरेको छ।