मधेस प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनका लागि विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने निर्णय गरेका छन्।
मधेसमा रहेका उद्योगहरूमा स्थानीय दक्ष जनशक्ति अभावमा भारतबाट कामदार ल्याएर काममा लगाउने अवस्था रहेको उनले बताए। त्यस्तै नेपालबाट वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये मधेसका जिल्लाको संख्या अत्यधिक रहेकाले विभिन्न संस्थाको सहकार्यमा सीपमूलक तालिम प्रदान गरी रोजगारीमा लगाउने निर्णय गरिएको उनले बताए।
'यो प्रदेश धान, गहुँ, उखु, जुट र सुर्तीजस्ता बाली उत्पादनमा अग्रणी छ। यी कृषि उत्पादनहरू धेरै उद्योगका लागि आधार हुन्। सिमेन्ट, प्लास्टिक पाइप, फलामे डन्डी, टेक्सटायल, धागो, फूड र फीड, खाद्य प्रशोधन आदि मधेस प्रदेशमा रहेका प्रमुख उद्योग हुन्। ती उद्योगमा स्थानीय दक्ष जनशक्तिको अभावमा भारतबाट कामदार ल्याएर काममा लगाउने अवस्था छ,’ मन्त्री भट्टराईले भने, ‘नेपालबाट वैदेशिक रोजगारीमा जाने जिल्लाहरूमध्ये मधेस प्रदेशका जिल्लाको संख्या अत्यधिक छ। सरकारी, निजी तथा गैर सरकारी क्षेत्रहरूसँगको सहकार्यमा स्थानीय जनशक्तिलाई विभिन्न किसिमका रोजगारमूलक सीप विकास तालिम तथा प्रविधि हस्तान्तरणमार्फत उद्यमशिलता तथा रोजगारी प्रवर्द्धन गर्ने र जनताका लागि थप रोजगारी सिर्जना गर्न आवश्यक निर्णय गरिएको छ।'