अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्खरै चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार लगाए। खुला अर्थ व्यवस्था र भन्सार अवरोधरहित अन्तर्राष्ट्रिय व्यापारको वकालत गर्ने अमेरिकाले यस्तो चर्को भन्सार दर लगाएर एकपटक फेरि आफूले पढाउने पाठभन्दा आफ्नो स्वार्थ ठूलो हुन्छ भनेर प्रमाणित गरेको छ।
रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्पको नियन्त्रणमा आएपछि हरेक कुरामा विभाजित भएको अहिलेको अमेरिका चिनियाँ उत्पादनलाई छेकबार लगाउने कुरामा भने एकमत छ। सय प्रतिशत भन्सार लगाए पनि महँगा अमेरिकी बिजुली गाडीको तुलनामा बिवाइडी लगायत चिनियाँ कम्पनीका गाडी सस्तो पर्ने भन्दै कतिपय रिपब्लिकन नेताले त चिनियाँ बिजुली गाडीमा पूर्ण प्रतिबन्ध नै लगाउनुपर्छ भनेका छन्।
जलवायु परिवर्तन धोका हो भन्ने ट्रम्पको तेल उत्पादन र खपत बढाउने नाराको विरोध गर्दै हरित अर्थतन्त्रमा जोड दिने वाचासहित बाइडेन राष्ट्रपति निर्वाचित भएका थिए।
निर्वाचित भएपछि बिजुली गाडी प्रवर्द्धन गर्न र ग्लोबल वार्मिङ घटाउन हरेक बिजुली गाडीमा उपभोक्तालाई ७५०० डलरसम्म छुट हुने अनुदान घोषणा गरेका बाइडेनले कर लगाउनु असंगत देखिए पनि अनपेक्षित होइन।
खुला बजार अर्थनीति अँगालेर समृद्ध भएको र चीनलाई समेत सोही नीति अँगाल्न प्रेरित गरेको अमेरिकाले यसरी उक्त नीति विपरीत चिनियाँ बिजुली गाडीमा चर्को भन्सार लगाएकाले धेरै अर्थशास्त्री भने अचम्ममा परेका छन्। कति अमेरिकी अर्थशास्त्री र वातावरणविदले त यो निर्णयको विरोध समेत गरेका छन्।
अर्थशास्त्रीहरू उदार अर्थनीति अँगालेको देशले अरू देशले उत्पादन गर्ने सस्तो वस्तु आफ्ना नागरिकलाई उपभोग गर्न दिनुपर्छ र आफू जुन वस्तु वा सेवा उत्पादनमा अब्बल छ त्यसैमा केन्द्रित हुनुपर्छ भन्छन्।
चिनियाँ बिजुली गाडी सस्ता मात्रै नभएर राम्रा गुणस्तरका समेत छन्। युरोपको बजारमा त तहल्कै मच्चाइसकेका छन्। राम्रो गुणस्तर र मूल्य पनि सस्तो भएकाले नेपालमा जस्तै विश्वभरि नै उपभोक्ताहरू चिनियाँ बिजुली गाडी नै रोज्छन्। बिजुली गाडीका कारण नै जापानलाई उछिनेर चीन अहिले सबैभन्दा धेरै गाडी निर्यात गर्ने देश बनेको छ।
सस्तो चिनियाँ बिजुली गाडी उपभोग गर्न पाउँदा अमेरिकी नागरिकलाई नै फाइदा हुन्छ र तेलबाट चल्ने गाडी छिट्टै विस्थापित गरेर वातावरणलाई समेत फाइदा हुन्छ। कार प्रयोग गर्ने संस्कार भएको अमेरिकामा सस्तो चिनियाँ बिजुली गाडीले मुद्रास्फीति नियन्त्रण गर्न समेत मद्दत गर्न सक्थ्यो।
तर पनि चीनसँग व्यापार युद्ध थालेका ट्रम्पले लगाएको भन्सार दर बढाएर बाइडेनले सय प्रतिशत पुर्याए। यो निर्णयलाई हानिकारक भन्दै द इकोनोमिस्ट पत्रिकाले 'खराब नीति, झन् खराब नेतृत्व' भनेर आलोचना गर्यो। यस्तो खराब निर्णय बाइडेनले किन गरे त?
बाइडेनले यो निर्णय लिनुको मुख्य कारण राजनीतिक हो। सस्तो चिनियाँ बिजुली गाडीले जनतालाई फाइदा हुने, चुनावअघि मुद्रास्फीति नियन्त्रण भएर अर्थतन्त्रलाई टेवा पुग्ने र वातावरण जोगाउन पनि मद्दत पुग्ने कुरा बाइडेनलाई पनि थाहा छ। तर पनि उनले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन हेरेर यो निर्णय लिएका हुन्।
चीनले खुला बजार व्यवस्था अँगालेपछि आफूले महँगो मूल्यमा उत्पादन गर्नुभन्दा सस्तोमा आयात गर्नु उचित ठानेर पछिल्ला दशकमा अमेरिकाले कलकारखाना बन्द गरेको थियो। त्यो नीतिले अमेरिकी जनताको रोजगारी खोसेर चीनमा रोजगारी बढाएको र उसलाई धनी बनाएको भन्दै ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन जितेका थिए।
अरू देशमा जस्तो लोकप्रिय मतका आधारमा राष्ट्रपतीय निर्वाचन जितिने भए सायद बाइडेनले यस्तो निर्णय लिने थिएनन् होला। तर प्रतिस्पर्धा हुने केही साना राज्यमा बाइडेनले हारे इलेक्टोरल कलेजका आधारमा ट्रम्प फेरि निर्वाचित हुनेछन्।
सस्तो चिनियाँ बिजुली गाडीको फाइदा सबै जनतालाई हुन्छ। गाडी बनाउने कारखानाका मजदुर र केही उद्योगीलाई मात्रै घाटा हुन्छ। तर पनि सस्तो चिनियाँ बिजुली गाडीको फाइदा उठाउन पाउने साधारण उपभोक्ताभन्दा गाडी कारखानामा काम गर्ने मजदुर धेरै संगठित हुन्छन्। उत्पादन गर्ने उद्योगीहरूको लबी पनि बलियो हुन्छ।
केही प्रतिस्पर्धात्मक साना राज्यमा गाडी बनाउने कारखानाहरू भएकाले पनि कारखाना बन्द भए आफ्नो रोजगारी गुम्न सक्छ भनेर डराएका मजदुरको मत पाउन बाइडेनले यस्तो नीति लिएका हुन्।
अमेरिकाले चिनियाँ बिजुली गाडीमा उच्च भन्सार दर लगाउने अर्को कारण भने रणनीतिक हो।
अमेरिकाले कमजोर चीनसँग व्यापार गरेर धनी बन्न मद्दत गर्यो। अहिले बलियो बनेर प्रतिस्पर्धा गर्न थालेको चीनलाई आफूभन्दा शक्तिशाली हुन नदिन प्रयासरत छ अमेरिका। चीनले पहिले पनि व्यापारका नियम मिच्दा अमेरिकाले आँखा चिम्लिन्थ्यो। तर अहिले अनुदान दिएर चीनले सस्तो बिजुली गाडी बनाएको देखाउँदै उसले भन्सार लगाएको हो।
चीन भने आफ्नो उत्पादन प्रणाली राम्रो र प्रभावकारी भएकाले गाडी सस्तो भएको दाबी गर्छ। उसले ठूलो मात्रामा उत्पादन गर्ने, राम्रो ब्याट्री, अमेरिकाभन्दा श्रम सस्तो हुने लगायत कारणले चिनियाँ गाडी अमेरिकीभन्दा सस्ता हुन्छन्। बिजुली गाडीको उत्पादनमा उत्कृष्ट हुन चीन सरकारले विभिन्न खाले अनुदान पनि दिन्छ। तर चीन अहिले जस्तो बलियो नभएको र आफूसँग प्रतिस्पर्धा गर्न नथालेको भए अमेरिकाले यसरी उच्च भन्सार लगाउँदैन थियो।
बिजुली गाडीलाई चीनले ट्र्याकिङ गरेर निगरानी गर्न सक्ने भन्दै अमेरिकाले सुरक्षा कारण पनि देखाएको छ। पछिल्ला दशकमा तेल उत्पादन गर्ने मध्यपूर्वी देशहरूले भाउ बढाएर दिक्क भएकाले अमेरिकी मोटर कम्पनी धराशायी भए। चीनले बिजुली गाडीमा पनि एकाधिकार बनाए, त्यसरी नै धम्क्याउने ठानेर पनि बाइडेनले उच्च भन्सार लगाएका हुन् भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।
राजनीतिक र रणनीतिक कारण मात्रै नभएर साँच्चै आफ्ना उद्योग प्रवर्द्धन गर्न पनि अमेरिकाले भन्सार बढाएको हो।
आफैं गाडी उत्पादन नगर्ने नेपाल जस्ता देशलाई चिनियाँ बिजुली गाडी सस्तो भए केही घाटा हुँदैन। तर गाडी उत्पादन गर्ने देशहरूलाई आफ्ना कारखाना बन्द हुन्छन् भन्ने खतरा हुन्छ। त्यसैले आफ्ना उद्योग र मजदुरको रोजगारी जोगाउन सरकारले नीतिगत हस्तक्षेप गर्छन्।
प्रमुख गाडी उत्पादक जर्मनी हाबी रहेको युरोपियन युनियनले पनि चीन सरकारले अनुदान दिएको कारण देखाउँदै चाँडै नै चिनियाँ बिजुली गाडीमा भन्सार लगाउने अपेक्षा छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)