नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताएका छन्।
बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
बजेटले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको उनको भनाइ छ।
उनले अब छिट्टै आयोग गठन गरी यस्ता कामहरू अघि बढाउनु पर्ने उनले बताए।
यस्तै, निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको पनि उनले बताए। कृषि, पर्यटन, सूचना प्रविधि लगायतलाई रूपान्तरणकारी परियोजनाको रूपमा लिएर कार्यक्रम ल्याइनु राम्रो भएको उनको भनाइ छ।
विभिन्न नियमावलीमा समयानुकूल परिमार्जन गरिने बजेटले प्रतिबद्धता जनाएकोमा उनले खुशी व्यक्त गरे।
वौद्धिक सम्पत्ति माथिको कानुन ल्याउन परिसंघले जोड दिँदै आएकोमा बजेटले सम्बोधन गरेको पनि उनले बताए।
यद्यपि, बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सीमित हुन नहुने उनले बताए। यसको सफल कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।
'बजेटमा समावेश कार्यक्रमहरू राम्रो छन्। तर, कार्यक्रमहरू बजेटमै मात्र सीमित नहोस् भन्ने चाहना राखेका छौ,' उनले भने, 'बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छ।'
अग्रवालले विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज आउने निजी क्षेत्रको अपेक्षा भए पनि आउन नसकेको बताए।
ऋणको दायित्वका कारण पुँजीगत खर्च घटाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए। साथै बजेटलाई सार्थक बनाउन आगामी मौद्रिक नीति खुकुलो हुनुपर्नेमा उनले जोड दिए।
यस्तै, लोडसेडिङका उद्योगीहरू मर्कामा परेको बताउँदै अध्यक्ष अग्रवालले विद्युतको समस्या समाधान गर्न अर्थमन्त्री पुनको ध्यानाकर्षण गरे।