अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले सबैले बजेट सन्तुलित आएको भन्दा आफू 'सरप्रराइज' भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री पुनले गत मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेका छन्।
उनले बजेटमा फरक-फरक धारणा आउनु स्वभाविक भएको बताए। तर, अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए।
'बजेटमा अलिअलि आलोचना त आउनुपर्छ भन्ने लागेको थियो। केही ठाउँबाट आलोचना पनि आयो। त्यसमा पनि खुशी नै छु,' उनले भने, 'तर, अझै धेरै आलोचना आउन अधिकांशले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएका छन्। आफैलाई पनि तथ्यमा आधारित भएर नै बजेट आएको जस्तो लाग्छ।'
उनले सबै मन्त्रालय र निकायहरूको मेहनत र सरोकारवालाहरूको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताए।
'संसदमा मैले बजेट प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालयहरूको मेहनत परेको छ। प्रि–बजेट छलफलहरूको समेत प्रभाव यसमा पर्छ। यो बजेटले नेपालको अहिलेको अर्थतन्त्रको यथार्थ स्थिति अनुभूत गर्ने परिवेश बनाएको छ,' उनले भने।
तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारवालाले यसको स्वीकार गरेको उनको भनाइ छ। बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि उनले बताए।
यस्तै, उनले संसदकाे अवरोध हटाएर बजेट प्रस्तुत गर्न सक्नु सकरात्मक पक्ष भएको बताए।
'पछिल्लो घटना क्रमले गर्दा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको भन्दै प्रश्न उठ्ने गरेको थियो। तर, हामी बजेट जस्तो महत्त्वपूर्ण दस्तावेज अध्यादेशबाट भन्दा संसदबाटै ल्याउने जोडमा थियौ। त्यसमा पनि हामी सफल पनि भयौं,' उनले भने, 'राजनीतिक समझदारी बनाएर संसदमै बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले ठूलो मेहनत गर्नुभयो। जसले गर्दा संसदको अवरोध हटाउन सकियो।'
अर्थमन्त्री पुनले अर्थतन्त्र निर्माणका लागि केही न केही योगदान र त्याग गर्नुपर्ने बताए। यो विषय सबैले बुझ्नु पर्ने उनले भनाइ छ।
'आन्तरिक ऋणको मात्रा बढेको बढ्यै छ। यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौती भएको छ,' उनले बताए।
सूचना प्रविधि प्राथमिकता राखेर नि:शुल्क कार्यालय दिने जस्ता कार्यक्रम ल्याएको उनले बताए। यसका लगि केही क्षेत्रहरूमा स्थान समेत निर्धारण गर्ने तयारी भइसकेको उनको भनाइ छ।
निजी क्षेत्रले यसमा साथ दिएर कार्यक्रमलाई सफल बनाउनु पर्नेछ। यसले ज्ञान प्राप्त गर्ने अवसर पनि सिर्जना हुने उनको भनाइ छ।
यस्तै, बजेटले सम्बोधन नगरेको विषयलाई आगामी दिनमा अन्य माध्यमबाट सम्बोधन गर्दै जाने पनि उनले बताए।
सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उनको भनाइ छ।
'कतिपय करका दर हेरफेरका कुरामा हामी सार्वजनिक बहस गरेर नै अगाडि बढ्न सक्छौँ,' उनले भने, 'सही काम गर्दा निजी क्षेत्र सरकारसँग छलफल गर्न डराउनु पर्दैन। आगामी दिनमा अझै खुला छलफल हुनुपर्छ।'
उनले स्पन्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउछ भन्नेमा पहिला नै जानकार भएको बताए। विभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको उनले बताए।
‘स्पन्ज आइरनका विषयमा तरंग आउँछ भन्ने नै लागेको थियो, आयो। यो विचार गरेरै ल्याइएको हो। यसबारे आजै व्यवसायीहरूसँग छलफल गर्दैछौँ,' अर्थमन्त्री पुनले भने, 'हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ। तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ।'