आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा स्पन्ज आइरनमा गरिएको फेरबदलसँगै उद्योगीहरू नै दुई ध्रवमा देखिएका छन्।
बुधबार बिहानै नेपाल फलाम छड उत्पादक संघले पत्रकार सम्मेलन गरेर करका दरमा गरिएको परिर्वतनको विरोध गरेको थियो। संघका प्रतिनिधिहरूले उद्योग बन्द गर्ने अवस्था आएको समेत बताएका थिए।
यसैबीच साखः ग्रुपले पनि प्रेस विज्ञप्ति जारी गर्दै संघको वैधानिकता माथि नै प्रश्न उठाएको छ।
'नेपाल फालाम छड उत्पादक संघले विगत पाँच वर्षदेखि आफ्नो साधारण सभा नगरेको र यसको वैधानिकता माथि आजका दिनमा ठूलो प्रश्न चिन्ह उब्जिएको हामीलाई लागेको छ,' साखः समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा इन्डक्सन प्रविधिबाट उत्पादन भएको फलाम छड र बिलेट आयात गरेर उत्पादन भएको टिएमटी छडको गुणस्तरमा एक रूपता नरहेको दाबी गरिएको छ।
आर्थिक विधेयक २०८१ मार्फत् बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल एक प्रतिशतबाट बढाएर २.५ प्रतिशत पुर्याएको छ।
विलेटको आयातमा भने ५ प्रतिशत नै भन्सार महशुल लाग्ने गरि यथावत राखिएको छ। विलेटमा यसअघि लाग्दै आएको अन्तः शुल्क हटाइएको छ।
यसअघि प्रतिटन २ हजार पाँच सय (प्रतिकेजी २.५ रूपैयाँ) लाग्दथ्यो। स्पन्ज आइरनमा भने अन्तः शुल्क लाग्दैन। चालु आर्थिक वर्षमा यस्तो अन्तः शुल्क लाग्दैनथ्यो।