सरकारले फलामे छडको कच्चा पदार्थमा लाग्ने करको दर हेरफेर गरेको छ।
आगामी वर्षका लागि ल्याइएको आर्थिक विधेयकमार्फत अर्थमन्त्री वर्षमान पुनले छडको कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार बढाएका छन्। स्पन्ज आइरनको भन्सार २.५ प्रतिशत बनाइएको छ। यसअघि एक प्रतिशत मात्र थियो।
बिलेटमा लाग्दै आएको भन्सार भने यथावत्, अर्थात् पाँच प्रतिशत नै छ।
आर्थिक विधेयकबाट बिलेटमा लाग्दै आएको अन्तःशुल्क भने हटाइएको छ। यसअघि बिलेटमा प्रतिटन दुई हजार पाँच सय रूपैयाँ अन्तशुल्क लाग्दै आएको थियो।
स्पन्ज आइरनमा भने अन्तशुल्क पहिलेकै, अर्थात् शून्य नै छ।
पढ्नुस्ः फलामे डन्डीमा करको बहस
२०७८ सालमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् छड बनाउन चाहिने कच्चा पदार्थमा लाग्दै आएको भन्सार र अन्तशुल्क हेरफेर गरेका थिए।
प्रतिस्थापन विधेयकअघि यी कच्चा पदार्थमा समान भन्सार कर (५ प्रतिशत) लाग्थ्यो भने अन्तशुल्क शून्य थियो। प्रतिस्थापन विधेयकले बिलेटमा भन्सार ५ प्रतिशत नै कायम राखेर प्रतिटन २५ सय रूपैयाँ अन्तशुल्क लाग्ने बनाएको थियो। स्पन्ज, पिग र स्क्र्याप फलाममा भने भन्सार नलाग्ने भयो र अन्तशुल्क पनि शून्य नै रहेको थियो।
सरकारको नीति असमान भएको भन्दै बिलेट मात्र आयात गर्नेहरूले विरोध गरेपछि २०७९ को आर्थिक विधेयकदेखि स्पन्ज/पिग/स्क्र्याप फलाममा एक प्रतिशत भन्सार लगाएर अन्तशुल्क शून्य नै राखिएको थियो।
यसपछि पनि बिलेट मात्र आयात गर्नेहरूले समान कर हुनुपर्ने माग राखिरहेका थिए। अर्कातिर सरकारको नीतिपछि धेरै उद्योगीले स्पन्ज, पिग र स्क्र्याप आइरनबाट डन्डी बनाउन थालेका थिए।