सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।
मंगलबार २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्।
चालु आर्थिक वर्ष सात प्रतिशतको वृद्धिदर प्रक्षेपण गरिएकोमा केन्द्रीय तथ्यांक कार्यालयको पछिल्लो संशोधित प्रक्षेपणको आधारमा ३.८७ प्रतिशतले वृद्धि हुने जनाएको छ।
पछिल्लो पाँच वर्ष यता नेपालको सरदर औसत आर्थिक वृद्धि २.९६ प्रतिशत छ। लामो समय यस्तो औसत आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारी रहँदै आएको छ।
नेपालको अर्थतन्त्रले पाँच प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि धान्न नसकिने विज्ञहरूले बताउँदै आएका छन्। यसले अर्थतन्त्रमा असन्तुलन ल्याउने उनीहरूको भनाइ छ।
यसअघि २०७२ सालको भूकम्पपछिका वर्षमा भने आर्थिक वृद्धिदर ६ प्रतिशत माथि पुगेको थियो। आर्थिक वर्ष २०७३/७४ मा ८.९८ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ७.६२ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ६.६६ प्रतिशत वृद्धि भएको थियो। गत आर्थिक वर्षमा यस्तो आर्थिक वृद्धिदर १.९५ प्रतिशत थियो।
हाल अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब ८४ करोड पुगेको छ। त्यस्तै सरकारले ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने घोषणा गरेको छ। साउनदेखि चैतसम्मको औसत मूल्य वृद्धि ५.९२ प्रतिशत छ।