राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि ल्याइने बजेटको सिलिङ बढाएको छ।
सोमबार साँझ बसेको स्रोत अनुमान समितिले देखाएको स्रोतका आधारमा बजेटको सिलिङ एक खर्ब बढाएर सिफारिस गरिएको हो।
आयोगका एक अधिकारीका अनुसार पहिलेको सिलिङमा करिब एक खर्ब रूपैयाँ बढाइएको छ। गत माघ महिनामा आयोगले १८ खर्ब रूपैयाँको बजेट सिलिङ दिएको थियो। यस आधारमा आगामी वर्षको बजेटको लागि करिब १९ खर्बको सिलिङ दिएको छ।
मंगलबार संघीय संसदमा प्रस्तुत गर्ने बजेटलाई अर्थ मन्त्रालयले अन्तिम चरणमा पुर्याएसँगै योजना आयोगले नयाँ सिलिङ दिएको हो।
योजना आयोगले मुख्यतय तीन आधार देखाएर सिलिङ बढाएको जनाएको छ। जिडिपीको ५.५ प्रतिशत बराबर आन्तरिक ऋण उठाउने सीमा भएको कारण करिब ३० अर्ब रूपैयाँ स्रोत बढेको उसको दाबी छ।
माघमा जिडिपीको ५ प्रतिशत बराबरको आन्तरिक ऋण उठाउन सक्ने सीमा राखेर स्रोत देखाइएको थियो।
माघको तुलनामा राजस्वमा सुधार आएको र चालु वर्षको उठ्ने राजस्व बढ्ने दाबी स्रोत अनुमान समितिको रहेको छ। माघ महिनामा गत पुस महिनासम्म उठेको राजस्वलाई आधार मानिएको थियो। त्यसआधारमा राजस्व वृद्धिदरमा सुधार आएको छैन।
माघमा गरिएको प्रक्षेपणको तुलनामा वैदेशिक सहायता पनि बढ्ने आकलन गरिएको छ।
यी तीन आधारमा करिब एक खर्ब रूपैयाँ सिलिङ बढाइएको योजना आयोग स्रोतले जानकारी गराएको छ।