हरेक वर्ष एउटा शीर्षकको लागि भनेर छुट्याएको बजेट अर्को क्षेत्रमा रकमान्तर गर्ने प्रवृत्ति देखिने गरेको छ।
आर्थिक वर्ष २०७९–८० मा सरकारले ल्याएको १७ खर्ब ९३ अर्ब कुल बजेटमध्ये ९५ अर्ब २९ करोड ७४ लाख रूपैयाँ रकमान्तर गरेको छ। यो कुल बजेटको ५.३१ प्रतिशत हो।
आइतबार सार्वजनिक भएको २०७९–८० को महालेखापरीक्षकको ६१औं प्रतिवेदनले यस्तो देखाएको हो।
रकमान्तर भएको ९५ अर्ब २९ करोडमध्ये २०७९–८० को अन्तिम महिना असारमा मात्रै २३ अर्ब १० करोड रकमान्तर गरेको थियो। असारको अन्तिम सातामात्रै यसरी १३ अर्ब ८१ करोड रूपैयाँ रकमान्तर भएको थियो।
सुरू बजेटमा व्यवस्था नभएका १६ वटा कार्यक्रममा १५ अर्ब ४९ करोड बजेट रकमान्तर गरिएको थियो। यसरी रकमान्तर भएको रकम समेत पूर्ण खर्च हुन सकेन। यसरी रकमान्तर गरिएको बजेटको ५३.४० प्रतिशत (आठ अर्ब २७ करोड) मात्रै खर्च गर्न सकेको थियो।
राष्ट्रिय गौरवका आयोजनाबाट समेत यसरी रकमान्तर भएको छ। आठ वटा राष्ट्रिय गौरवका आयोजनाबाट ५ अर्ब ७८ करोड रूपैयाँ अन्य ५१ वटा आयोजनामा रकमान्तर गरिएको छ।
राष्ट्रिय गौरवका आयोजनामा विनियोजन भएको बजेट अन्यमा रकमान्तर गर्न नपाइने व्यवस्था छ। महालेखा परीक्षकले कानुनको सीमाभित्र रहेर मात्रै रकमान्तर गर्न निर्देशन दिएको छ।