सरकारले यो वर्ष उद्योग क्षेत्रमा केही उल्लेखनीय काम भएको दाबी गरेको छ।
पछिल्ला वर्षमा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान घट्दै गएको अवस्थामा औद्योगिक उत्पादन बढाउन महत्त्वपूर्ण काम अघि सारिएको दाबी गरिएको छ।
यस्ता छन् आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख गरिएका १० काम
–महिला उद्यमी, कम्तीमा ५० प्रतिशत महिला तथा अपांगता भएका व्यक्ति कामदार भएका उद्योग, कम्तीमा ८० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योग, पूर्णरूपमा हरित ऊर्जा प्रयोग गर्ने उद्योग र रूग्ण उद्योगलाई प्रोत्साहन सुविधा वा सहुलियत दिने व्यवस्था रहेको छ।
–नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यलाई सरल, स्पष्ट व्यवस्थित र पारदर्शी बनाउन उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनमा आएको छ।
–सन् २०१५ देखि सञ्चालनमा आएको समृद्धि आयोजनाबाट सन् २०२३ सम्ममा १२ हजार ६ सय २२ व्यक्तिले व्यावसायिक तथा सीपमूलक तालिम र ८५ हजार ४ सय ४६ व्यक्तिले वित्तीय साक्षरतासम्बन्धी तालिम प्राप्त गरेका छन्।
यस अवधिसम्म २९ हजार ५ सय २१ रोजगारी सिर्जना भएको छ भने ७५ हजार १ सय ७० व्यक्तिले आप्रवासन अभिमूखीकरण तालिम प्राप्त गरेका छन्।
–सबै स्थानीय तहमा २०७६/७७ देखि सञ्चालनमा आएको लघु उद्यम विकास कार्यक्रममार्फत् नयाँ उद्यमी सिर्जना, स्तरोन्नति, प्रविधि हस्तान्तरण, उद्यम घर निर्माण र रोजगारी सिर्जना गर्ने कार्य अन्तर्गत २०८० फागुनसम्म नयाँ उद्यमीको संख्या १६ हजार एक सय १६ रहेको छ।
–लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबाट सीप विकास तथा उद्यमशीलता विकासमार्फत् चालु आर्थिक वर्षको फागुनसम्म लघु उद्यमीको संख्या ३९१ थप भएको छ। गत आर्थिक वर्षको फागुनसम्म लघु उद्यमीको संख्या ३६६ रहेको थियो।
–२०८० फागुनसम्म उद्योग विभागमा औद्योगिक वौद्धिक सम्पत्तिका रूपमा ६३ हजार ९८ ट्रेडमार्क ८८ पेटेन्ट र ३१० डिजाइन दर्ता भएका छन्। दर्ता भएका कुल ट्रेडमार्कको संख्यामध्ये स्वदेशी र विदेशी ट्रेडमार्कको संख्या क्रमशः ५४.३ प्रतिशत र ४५.७ प्रतिशत रहेको छ।
–केन्द्रीय कारागार कारखानाबाट सञ्चालित बन्दी प्रशिक्षण कार्यक्रममार्फत् चालु आर्थिक वर्षको फागुनसम्म ३५ बन्दीले तालिम प्राप्त गरी २४ हजार ४ सय ४२ मिटर सुती कपडा उत्पादन भएको छ। गत आर्थिक वर्षमा ७५ हजार मिटर सुती कपडा उत्पादन भएको थियो।
–औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट २०८० फागुनसम्म स्टार्टअप कार्यक्रममा सहभागी भएका १८२ मध्ये ७९ व्यवसायीबाट व्यवसाय सुरू भई ३१० व्यक्तिले रोजगारी प्राप्त गरेका छन्।
–उद्यमशीलता विकास तालिमअन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म ९१ व्यवसायीबाट व्यवसाय सञ्चालन भइ १९२ व्यक्तिले रोजगारी प्राप्त गरेका छन्।
–उद्यम विकास सहजकर्ता कार्यक्रमअन्तर्गत २०८० फागुनसम्म भर्ना भएका २६९ प्रशिक्षार्थीमध्ये २०९ प्रशिक्षार्थीले कार्यगत सिकाई सम्पन्न गरी १२३ प्रशिक्षार्थी स्तरोन्नति भएका छन्।