आर्थिक वर्ष २०७९–८० मा अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा छन् भने १५ वटा घाटामा गएका छन्।
सार्वजनिक संस्थानहरूको खुद नाफा ३०४६.२० प्रतिशतले बढेर ४८ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ३८ अर्ब घाटामा रहेको नेपाल आयल निगम ११ अर्बले नाफामा गएपछि संस्थानहरूको कुल नाफा बढेको हो।
नाफामा देखिएका २६ संस्थानको कुल नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ९८१ प्रतिशतले बढेको छ।
संस्थानहरूको आम्दानी ६ खर्ब ६१ अर्ब ०१ करोड रूपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा १४.८७ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ खर्ब ७५ अर्ब ४३ करोड थियो।
कुल ४४ वटा संस्थानमा २० वटामा सरकारको पूर्ण स्वामित्व छ भने २४ वटामा आंशिक स्वामित्व छ।
आर्थिक वर्ष २०७९–८० मा संस्थानहरूबाट सरकारले १७ अर्ब ३९ करोड आयकार प्राप्त गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यसमा २०.९४ प्रतिशतले वृद्धि भएको हो। विभिन्न क्षेत्रबाट पाएको कुल आयकरमा यो ६.९७ प्रतिशत हो।
त्यस्तै सरकारले संस्थानहरूबाट १३ अर्ब ७५ करोड ६७ लाख रूपैयाँ लाभांश पाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा १२३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा संस्थानहरूबाट सरकारले ६ अर्ब १५ करोड लाभांश पाएको थियो।
अहिले पनि सेयर लगानीको अनुपातमा सरकारले मात्रै ३.९० प्रतिशत लाभांश प्राप्त गरिरहेको छ। सरकारको पाँच वर्ष यताको औसत सेयर लगानी १२.७५ प्रतिशतले वृद्धि भइरहेको छ।
यी संस्थानमा आर्थिक वर्ष २०७५–७६ मा २ खर्ब ७१ अर्ब सेयर लगानी भएकोमा आर्थिक वर्ष २०७९–८० मा यस्तो लगानी बढेर ३ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, पाँच वर्षको अवधिमा ऋण लगानी पनि एक खर्ब ९२ अर्बबाट बढेर ३ खर्ब ८ अर्ब रूपैयाँ पुगेको छ।
उच्च नाफा गर्ने पाँच सार्वजनिक संस्थान
आर्थिक वर्ष २०७९–८० मा उच्च दरमा नाफा कमाउने पाँच संस्थानहरूमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन्।
४४ सार्वजनिक संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड रहेकोमा यी पाँच संस्थानको नाफा मात्रै ७५.६७ प्रतिशतभन्दा धेरै छ। यी पाँच संस्थानको मात्रै ३६ अर्ब ६९ करोड नाफा भएको छ।
नेपाल आयल निगमको नाफा ११ अर्ब, नेपाल विद्युत प्राधिकरणको ९ अर्ब ४० करोड, नेपाल टेलिकम ७ अर्ब ९२ करोड, नागरिक लगानी कोष ३ अर्ब ८५ करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब ८० करोड नाफा गरेका छन्।