अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने दुई दिन पहिले नै आर्थिक सर्वेक्षण पेस गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहँदा अर्थमन्त्री पुनले संसदमा आर्थिक सर्वेक्षण पेस गरेका हुन्।
संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले आकलन गरेअनुसार चालु वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने जानकारी गराए।
कृषि र सेवा क्षेत्रमा भएको विस्तार उल्लेख गरिएको छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा बढी हुने जानकारी दिए।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरे।
मन्त्री पुनले राजस्व परिचालन ९ प्रतिशतले बढ्ने बताए। उनले निरपेक्ष गरिबीको रेखामुनी २०.२७ प्रतिशत जनता रहेको जानकारी दिए।
नेपालमा विद्युत जडित क्षमता ३ हजार ६० मेगावाट पुगेको, ९७ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको, ४१.६९ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गरिएको छ।