चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार गत वर्षको तुलनामा नेपालको समग्र व्यापार २.५ प्रतिशतले घटेको छ।
यो वर्ष आयात र निर्यात व्यापार दुबै घटेको छ।
निर्यात व्यापार गत वर्षको तुलनामा ३.६१ प्रतिशतले घटेको छ। २०८० साउनदेखि २०८१ वैशाखसम्म एक खर्ब २६ अर्ब १७ करोड रूपैयाँको निर्यात व्यापार भएको छ। गत वर्ष यो अवधिमा एक खर्ब ३० अर्ब ९० करोडको भएको थियो।
आयात व्यापार २.३९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३६ अर्बको आयात व्यापार भएको थियो। यो वर्ष भने १३ खर्ब तीन अर्ब रूपैयाँ बराबरको भएको छ।
आयात व्यापार घट्नुमा मुख्यतः कृषि उपज र खानेतेल र पेट्रोलियम पदार्थको आयातमा आएको कमी देखिएको छ।