पूर्वअर्थ सचिव रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई बाटो देखाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएका छन्। शुक्रबार बिजमान्डु डटकमले राखेको पूर्वबजेट छलफलमा उनले निजी क्षेत्रलाई लगानी गर्न बाटो देखाउने गरी बजेट ल्याउन आवश्यक रहेको बताएका हुन्।
सरकारले रणनीतिक क्षेत्रमा लगानी गर्न सके त्यसले ठूलो मात्रामा निजी क्षेत्रको लगानी बाटो खुलाउने भन्दै उनले यस्तो सुझाव दिएका हुन्।
'अहिले सरकारले गर्ने लगानीले निजी क्षेत्रलाई पनि डोहोर्याएर लगानी गर्न प्रोत्साहित गर्न सक्नु पर्यो। सरकारले एक रूपैयाँ लगानी गर्यो भने निजी क्षेत्र पनि १५/२० रूपैयाँ लगानी गर्ने गरी लक्षित कार्यक्रम आउनु पर्छ,' खनालले भने।
उनले विगतमा आफू अर्थ सचिव हुने क्रममा लिइएका नीतिसँग तुलना गर्दै तत्काल निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने कार्यक्रम आवश्यक रहेको बताए। त्यस्तै सिमेन्ट उद्योगमा लगानी बढाउन, खानी क्षेत्र र उद्योग क्षेत्रसम्म बाटो र ट्रान्समिसन लाइन बनाउने नीति लिएपछि त्यसको ठूलो प्रभाव परेको उनले बताए।
'त्यति बेला सरकारले एक अर्ब बराबरको लगानी गर्दा निजी क्षेत्रले १९ अर्ब बराबरको लगानी गरेको थियो,' उनले भने, 'हामीले धेरै केही गरेका थिएनौं। खानी र उद्योगसम्म पुग्ने ट्र्याक रोड बनाउने र ट्रान्समिसन लाइन बनाउने भनियो। त्यति बेला ३०/३५ करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो। त्यसको प्रभाव ठूलो पर्यो।'
खनालले त्यस्तो क्षेत्रमा आर्थिक करिडोर बनाउने गरिएका सडक परियोजना, कृषि संकलन केन्द्र लगायत हुन सक्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि रणनीतिक रूपमा सहयोग पुग्ने क्षेत्रमा खर्च गर्ने गरी बजेट ल्याउन आग्रह गरे। निजी क्षेत्रले खुलेर लगानी गर्ने वातावरण सरकारले तय गर्नु पर्ने उनको भनाइ थियो। उनले पूर्वाधारमा सरकारले सहयोग गर्दाको प्रभाव सिमेन्ट र जलविद्युत क्षेत्रले देखाएको बताए।
'अहिले पनि समग्र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या आइरहेको छ। निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत वा एउटा घरानाले उठाएको विषयका रूपमा मात्रै लिएर सरकारले सम्बोधन गरेको छैन,' उनले गुनासो गर्दै भने, 'निजी क्षेत्रलाई मात्रै लाभ हुन्छ भनेर हेरिन्छ।'
सरकारले दिने मनोबलले लगानीमा ठूलो प्रभाव पार्ने उनको भनाइ छ।