नेपाल उद्योग वाणिज्य महासंघले खर्चको क्षमता हेरेर मात्रै बजेटको आकार तय गर्न सुझाव दिएको छ।
बजेटको आकार सधै बढ्ने तर खर्च नबढेको अवस्थामा बुधबार गरेको पूर्व बजेट छलफलमा महासंघ अध्यक्ष चन्द्र ढकालले यस्तो सुझाव दिएका हुन्।
यसको लागि महासंघले चालु वर्षमा हुन सक्ने बजेट खर्चको तुलनामा १० प्रतिशत मात्रै बढाएर ल्याउन सुझाव दिएको छ। चालु वर्षमा १७ खर्ब ५१ अर्बको बजेटमा अहिलेसम्म जम्मा ६० प्रतिशत खर्च भएको छ।
अर्थमन्त्री वर्षमान पुनको सहभागितामा गरिएको कार्यक्रममा उनले बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋणमा चाप पर्ने भन्दै उनले सानो आकार र र यथार्थपरक बजेट ल्याउन सुझाव दिए।
अध्यक्ष ढकालले नयाँ बजेटबाट माग बढाउन सहयोग पुग्ने र निजी क्षेत्रको मनोबल बढ्ने कार्यक्रम ल्याउन आग्रह गरे।
कोभिडपछि तीव्र विस्तार भएको अर्थतन्त्र पछिल्लो २ वर्षयता शिथिल भएको भन्दै आर्थिक विस्तारको लागि मागमा सुधार आउन आवश्यक रहेको बताए।
स्थानीय उत्पादन २० प्रतिशत महँगो भए पनि सरकारी प्रयोजन प्रयोग गर्नुपर्ने, १ सयभन्दा बढी रोजगारी दिने उद्योगलाई प्रोत्साहान गर्ने, स्थानीय कच्चापदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव उनका छन्।
बजेट कार्यान्वयनमा ठूलो समस्या देखिएको भन्दै सरकारी प्रशासकको र राजनीतिक अस्थिरता यसको कारण रहेको बताए।