नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरूपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
ढकालले नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन सोही अनुरूप बजेट ल्याउन आवश्यक रहेको बताए।
सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको र निजी क्षेत्रलाई प्रत्साहन दिने किसिमको भएको पनि उनले बताए।
'नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन हुनुपर्छ,' उनले भने, 'सरकारले सोह्रौं योजनामा आधारित भएर पनि यो नीति तथा कार्यक्रम ल्याएकाले यसले धेरै क्षेत्र समेटेको छ। यसैअनुरूपको लगानीको व्यवस्था हुन उत्तिकै जरूरी छ।'
ढकालले विगतका नीति तथा कार्यक्रम पनि राम्रो हुँदाहुँदै प्रभावकारी कार्यान्वयन हुन नसकेकाले यसपालिको नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुनेमा सरकार प्रतिबद्ध रहनुपर्नेमा जोड दिए।