सरकारले भारतको आन्तरिक जलमार्ग उपयोग गरी व्यापार लागत कम गर्न पहल गर्ने योजना बनाएको छ।
मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
जलमार्गबाट समुद्रसम्मको पहुँच र एकीकृत जाँच चौकीका पूर्वाधार तथा सुविधा विस्तार गर्ने, बहुविधिक ढुवानीको माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारको लागत घटाइने पौडेलले बताए।
निर्यात सम्भावना भएका मुलुकसँग दुई पक्षीय सम्झौता गरिने, अन्तर्राष्ट्रिय व्यापार सम्भावनाका आधारमा वस्तुगत र देशगत निर्यात रणनीति अपनाइने बताइएको छ।
सरकारले व्यापार पूर्वाधार विकास गुरूयोजना तयार गरी कार्यान्वयन गर्ने, व्यापार पूर्वाधार र प्रविधिको विकास तथा उपयोग गरी नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने समेत उल्लेख गरेको छ।
नेपाल व्यापार एकीकरण रणनीति कार्यान्वयन गर्न क्षेत्रगत समन्वय र सहकार्यलाई सुदृढीकरण गर्ने नीति सरकारले लिएको छ।