सरकारले पछिल्लो समय आर्थिक र मौद्रिक नीतिमा समन्वय भइरहेको र आर्थिक अवस्थामा सुधार भएको बताएको छ।
मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा सुधार आएको, मूल्य वृद्धिदर घटेको, बैंक तथा वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी रहेको बताएका छन्।
त्यस्तै, लामो समयदेखि घाटामा रहेको चालु खाता नाफामा देखिएको, शोधानान्तर बचतमा रहेको, विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको पनि बताएका छन्।
उनले पर्यटक आगमन बढेको, प्रति पर्यटक खर्चमा वृद्धि, समयमै मल तथा बीउ आपूर्ति गरिएकोले धान लगायत कृषि बालीको उत्पादन बढेको जानकारी गराएका छन्।
सरकारले चालु आर्थिक वर्षको उपलब्धिको रूपमा थप तीन हजार हेक्टर भूमीमा सिँचाइ सुविधा विस्तार पुगेको, निर्धारित समयमै सुनकोशी मरिन डाइभर्सनको १३.२ किलोमिटर लामो सुरूङ छिचोल्ने काम भएको, जलविद्युतको जडित क्षमता २९४० मेगावाट पुगेको, कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत सेवा पुगेको बताएको छ।
त्यस्तै, यो अवधिमा विभिन्न कारणले लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न भएकोले उत्पादित विद्युत प्रसारण र वितरणमा सहयोग पुगेको छ। भारत र बंगलादेशमा विद्युत बिक्री सुनिश्चित भएको बताइएको छ।
यसबीच पूर्वाधार विकासका आयोजना कार्यान्वयनलाई तीव्रता आएको, पूर्व पश्चिम र उत्तर दक्षिण राजमार्गमा देखिएका समस्या समाधान गरिएको छ। नागढुंगा नौबिसे सुरूङ मार्ग छिचोलिएको उल्लेख छ।
निर्माणाधीन स्थानीय अस्पताललाई प्राथमिकीकरण गरेर निर्माण कार्य अगाडि बढाइएको, सबै स्थानीय तहमा स्वास्थ्य बीमा पुगेको छ। औषधि र खोप जस्ता स्वास्थ्य सेवा, स्थानीय अस्पताललाई प्राथमिकीकरण गरेर निर्माण अगाडि बढाइएको, विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक पुर्याइएको सरकारले बताएको छ।
नागरिकता, राहदानी, श्रम स्वीकृति, जग्गा रजिष्ट्रेसन सेवा झन्झटमुक्त बनाएको सरकारको दाबी छ।