आर्थिक गतिविधिमा कमी आएसँगै मुलुकमा आयात हुने सामानमा सोझै उपभोग गरिने वस्तुको हिस्सा बढ्दो क्रममा देखिएको छ।
गत आर्थिक वर्षको अन्त्यमा कुल आयातका सोझै उपभोग हुने वस्तुको आयात ३८.३ प्रतिशत हाराहारी रहेकोमा यो नौ महिनामा बढेर ४१.७ प्रतिशत पुगेको छ।
यस्तो सामानको आयात ५.६ प्रतिशतले बढेर चार खर्ब ८६ अर्ब रूपैयाँ बराबर भएको छ।
विशेषगरी सोझै उपभोग गर्न सकिने टेक्सटाइल, जुत्ता, गहना, छाला पहिरन सामग्री, कृषि तथा खाद्यान्न सामग्रीको आयात बढेको हो।
सोझै उपभोग गर्न सक्ने वस्तुको आयातमा भइरहेको वृद्धिले मुलुकमा उत्पादनमूलक क्षेत्रमा संकुचन आइरहेको संकेत गर्ने विश्लेषकहरू बताउँछन्।
तर, स्थिर पुँजी निर्माण गर्ने सामग्रीको आयातमा पनि वृद्धि भइरहेको छ। यसले निर्माण क्षेत्रका औद्योगिक उत्पादनहरू बढ्न सक्ने सम्भावना पनि देखिएको छ।
स्थिर पुँजी निर्माण गर्ने खालका समग्रीको हिस्सा ८.३ प्रतिशतबाट बढेर ९.१ प्रतिशत पुगेको छ। यस्ता सामग्रीको आयात ६.२ प्रतिशतले बढेर एक खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ। यो अवधिमा कुल आयात १० खर्ब ३० अर्ब भएको थियो।
चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिना (साउनदेखि चैतसम्म)मा मूल्य अभिवृद्धि गर्ने सामानको हिस्सा ५३.३ प्रतिशतबाट घटेर ४९.२ प्रतिशत भएको छ।
यस्तो सामानको आयात १०.३ प्रतिशतले घटेर पाँच खर्ब ७४ अर्बमा सीमित भएको छ।