अर्थ सचिव मधुकुमार मरासिनीले सरकारले लिने नीतिमा छिटो–छिटो परिवर्तन गर्न नहुने बताएका छन्।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले राखेको पूर्व बजेट छलफल कार्यक्रममा नीति छिटो परिवर्तन गर्दा निजी क्षेत्रले असुरक्षित महसुस गरेको भन्दै अनुमान योग्य र निश्चित समयको स्थिरता आवश्यक पर्ने बताए।
उनले अर्थतन्त्रको मुख्य बहक क्षेत्रको पहिचान गर्न आवश्यक रहेको भन्दै बजेटले यस विषयलाई सम्बोधन गर्ने बताए। यस्ता क्षेत्रमा निश्चित अवधि तोकेर नीतिगत स्थिरता दिनुपर्ने उनको भनाइ छ।
अर्थतन्त्रको अहिलेको अवस्था के हो, बाधा कहाँ के हुन्, कसरी समाधान हुन्छ भनेर केन्द्रित हुनु पर्ने बताए।
प्रदेश र स्थानीय तहमार्फत् उत्पादन क्षेत्रलाई प्राथमिकता दिने गरी नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ। सरकारको लगानी बढी उपयोग र उत्पादनलाई सहयोग गर्ने क्षेत्रमा हुनुपर्ने उनले बताए।
ग्रामिण अर्थतन्त्रको विस्तार र कृषि क्षेत्रको सुधारका लागि बजेट बढी केन्द्रित गरिने उनको भनाइ छ। उनले कृषि उपजको आयात धेरै भएको भन्दै यस्ता उत्पादन बढाउन प्रोत्साहित गर्दै आयात घटाउने नीति अवलम्बन गरिने बताए।