नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अवार्ड प्रदान गरेका हुन्।
अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ।
'आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नुभई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, बीमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ। मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवं अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,' अभिनन्दन पत्रमा उल्लेख गरिएको छ।
अध्यक्ष ढकालले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए।