निजी क्षेत्रले आगामी वर्षको बजेटबाट अर्थतन्त्रको दीर्घकालिन सुधारलाई केन्द्रित गर्नु पर्ने बताएका छन्।
विहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले राखेको पूर्वबजेट छलफलमा उनीहरूले निजी क्षेत्रको मनोबल खस्कँदो भएकाले प्रोत्साहन पुग्ने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नयाँ बजेट निजी क्षेत्रका समस्यालाई समेटेर ल्याउन सुझाव दिए। उनले लगानी सम्मेलनका प्रतिवद्धता बजेटले पूरा गर्नुपर्ने बताए।
अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको उनले बताए।
उनले बजेट र मौद्रिक नीति बीच तादात्यता बनाउन सुझाव दिए।
कम्तीमा एक सय रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउनुपर्ने र आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुःख दिइरहेको भन्दै नयाँ बजेटले यसलाई रोक्नुपर्ने बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालले आगामी आर्थिक वर्ष दुई वर्षका नीति पुनः फर्काउनु पर्ने सुझाव दिए। उनले निजी क्षेत्रमा जाने स्रोत दुरुपयोग भयो भन्ने भाष्य चिर्न समेत कोभिड अगाडिको नितीमा जानुपर्ने बताए। आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक रहेको बताए।
निजी क्षेत्रको मनोबल माथी नउठेसम्म सरकार सफल हुन नसक्ने उनको भनाइ छ । विगतमा लिइएका गलत नीति सच्याउनु पर्ने उनको सुझाव दिए । पुराना कानुनका कारण दुःख दिन नहुने उनले बताए।