उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहकारीले तल्लो तहको धेरै पैसा उठाएर घरजग्गामा लगानी गर्दा लघु उद्यमको विकास हुन नसकेको बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको 'मेकइन नेपाल, स्वदेशी समिट २०२४' मा मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
उनले रोजगारी सिर्जना र स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणको लागि लघु उद्यम आवश्यक रहे पनि सहकारीमा पुँजी बस्ने र सहकारीले लक्ष्य अनुसारको काम नगर्दा लघु उद्यमको विकास हुन नसकेको बताएका हुन्।
'सहकारीमा जम्मा भएको पैसा घर–जग्गा जस्ता अनुत्पादन क्षेत्रमा प्रयोग भयो, यसले लघु उद्यमको विकास हुन छाड्यो,' मन्त्री भण्डारीले भने।
ठूला उद्योग उद्योगहरू पनि खुल्न नसकेको कारण अर्थतन्त्रमा उद्योगको योगदान घटेको उनको भनाइ थियो।
उनले अर्थतन्त्रमा उद्योगको योगदान घट्दै जानु चिन्ताको विषय भएको भन्दै निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले सरकारले उद्योग सञ्चालन गर्ने उद्देश्य बोक्न जरूरी नरहेको बताए।
अर्थविद् विश्व पौडेलले उद्योग विकासको लागि निजी क्षेत्रलाई धेरै बन्धनमा बाध्न नहुने बताए। प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्नु नेपाली उद्योगको चुनौती भएको उनको भनाइ छ।
कच्चा पदार्थ, श्रमशक्ति, पुँजी र बजार पहुँचको सहजीकरणपछि मात्रै उद्योगको विसका हुन सक्ने भन्दै यस्ता विषयमा सरकारले सहजीकरण गर्नु पर्ने बताए।
'प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्नु हाम्रो चुनौती हो, लागत घटाउनको लागि हामीले विभिन्न उपाय अवलम्बन गर्न सक्छौँ,' पौडेलले भने।
उनले प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्नको लागि निश्चित समयलाई अन्य स्वार्थ राख्न नहुने बताए।
'नेपालमा कच्चा पदर्थ छ भने त्यहाँ सहजीकरण गरिदिनु पर्यो, आयत गरिदैँछ भने लामो समय उपलब्ध हुने ग्यारेन्टी गर्नु पर्यो, श्रम शक्ति जहाँबाट ल्याए पनि छुट दिनु पर्यो, पुँजी जसरी ल्याए पनि छुट दिनु पर्यो,' पौडेलले भने।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले धेरै थरीका कर उद्योगहरूको लागि झन्झट भएको भन्दै आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क लगायतका सीमित कर मात्र लागू गर्नु पर्ने बताए।
उनले बजार प्रतिस्पर्धाको लागि भ्याटमा बहुदर अति आवश्यक रहेको बताएका छन्। नेपाली उत्पादनहरू क्रमशः बढ्दो क्रममा रहेको भन्दै बजार सुनिश्चिता बढाउन सरकारी तहमा यस्ता वस्तुको उपयोग अनिवार्य गरिनु पर्ने उनले बताए।