हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अगुवाइमा रेमिटेन्सबाट आउने रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रोको अवधारणा अघि सारिएको छ।
यस आवधारणा अनुसार हाल दुइटा आयोजनाहरू निर्माणको चरणमा जान लागेका छन्। यी आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने भएको छ।
रेमिटेन्सको रकम नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने सम्भावनाको खोजी गर्ने उद्देश्यसहित हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूबीच समझदारीपत्रमा हस्ताक्षार गररएको छ।
एचआइडिसिएलले रेमिट हाइड्रोको अवधारणा अनुरूप अघि बढाएका ताप्लेजुङ जिल्लामा रहेका ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको धुन्सा खोला जलविद्युत आयोजनाको सेयर लगानीमा वैदेशिक रोजगारीमा व्यक्तिहरूलाई सहभागी गराउन लागिएको हो।
सम्झौताको मुख्य उद्देश्य नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासको लागि आयोजनाहरूको ऋण तथा सेयर लगानीमा रेमिटेन्स रकमको उपयोग गर्ने रहेको छ।
दुवै पक्षको आ–आफ्नो प्रचलित नीति, नियमको अधिनमा रहेर वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको उच्चतम हित हुने गरी समझदारीको कार्यान्वयन गरिने उल्लेख गरिएको छ।