रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ।
रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो।
काठमाडौंमा आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रूपैयाँ लगानी हुनेछ।
रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए।
समुद्र सतहदेखि ३,७०० मिटर उचाईमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिनेछ।
'यो पहियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो। परियोजना निर्माण सुरू गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,' उनले भने।
उनले आयोजनामा दोस्रो चरणमा ४० करोड रूपैयाँ लगानी थप हुने बताए।
एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ। यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।