सूर्य नेपालले काठमाडौंमा सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको छ।
आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनमा भारतीय उद्योग परिसंघका प्रतिनिधि सुप्रतिम दत्तले यस्तो जानकारी दिएका हुन्।
'सूर्य नेपाल कम्पनीमार्फत् आफूहरूको नेपालमा उपस्थिति रहेको र यसले यहाँ राम्रो सम्भावना रहेको पुष्टि गरेको छ,' दत्तले भने, 'कम्पनीले पछिल्लो समय बिस्कुट, अगरबत्ति लगायत उत्पादनमा समेत हात हालेको छ भने काठमाडौंमा सुविधा सम्पन्न होटेल समेत बनाउन लागि रहेका छौं।'
सूर्य नेपाल आइटिसी भारतको सहायक कम्पनी हो। सम्मेलनमा बोल्दै दत्तले नेपालका विशेष पाँच क्षेत्रमा सहकार्य गर्न सकिने समेत बताए। उनले पर्यटन, रोड र रेल, पूर्वाधार, कृषि, डिजिटल र ऊर्जामा लगानीको सम्भावना रहेको बताएका हुन्।
नेपालको पर्यटन यहाँको औद्योगिक क्षेत्रमध्ये सबैभन्दा धेरै सम्भावना भएको क्षेत्र रहेको उनको भनाइ छ।
दत्तले भने, 'पर्यटनमा राम्रो गरिरहेका कम्बोडिया, श्रीलंका जस्ता मुलुकहरूले पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को १५ देखि २० प्रतिशत योगदान भइरहेको छ। यसले नेपालमा पनि पर्यटनको राम्रो सम्भावना हुने देखाउँछ।'
भारतीय उद्योग परिसंघ नेपालको हस्पिटालिटी लगायतका पर्यटनको क्षेत्रमा काम गर्न र मानव संशाधन निर्माणमा सहयोग गर्न इच्छुक रहेको जानकारी दिए।
नेपालको एयरपोर्ट, सडक सञ्जाल लगायतका पूर्वाधार क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाइ छ। कृषि क्षेत्रमा बिउ, प्रविधि र मल उत्पादन लगायतका क्षेत्रमा मिलेर काम गर्न सकिने समेत उनले बताए।
सूचना प्रविधिको क्षेत्रमा सन् २०२२ मै नेपालले ५० करोड डलर बराबर आम्दानी गरिरहेको बुझिएको र यो क्षेत्रको विस्तार भएमा चार अर्ब डलरको क्षेत्र बन्न सक्ने समेत उनले बताए।
नेपाल र भारतबीच पछिल्ला दिनमा भएका विद्युतसम्बन्धी सम्झौताले जलविद्युत क्षेत्रमा भारतीय लगानीको लागि समेत बाटो खोलेको उनले बताए।
प्रसारण लाइन निर्माण र स्टोरेज प्रोजेक्टहरूको विकासले नेपाललाई स्वच्छ ऊर्जाको लागि दक्षिण एशियाकै हबको रूपमा स्थापित गर्ने समेत उनको भनाइ छ।