आजदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरू भएको छ।
सम्मेलनमा लगानीकर्ताहरूको स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताएका छन्।
विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य पुष्टि हुने उनको भनाइ छ। लगानीको लागि सरकारले धेरै नीतिगत सहजीकरण गरेको र अन्य सुधारका काम निरन्तर गर्ने उनले बताए।
व्यवसायिक वातवरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले लगानी सम्मेलन गरिएको उनको भनाई छ। लगानी धेरै परियोजनाहरू सोकेस गरिएको भन्दै लगानीको सम्भावना खोज्न सहयोग पुग्ने बताए।
सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक निजी साझेदारीमार्फत सहकार्य गरिरहेको उनको भनाई छ। उनले लगानी सम्मेलनको क्रममा सरकार र लगानीकर्ताहरू बिच धेरै परियोजनामा विकास तथा व्यस्थापनसम्बन्धी सम्झौता हुने विश्वास व्यक्त गरे।
सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले लिए।
नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको मन्त्री पुनले उल्लेख गरे।
उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको उनको भनाइ थियो। हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने भन्दै पुनले ढुक्क भएर लगानी गर्न अपिल गरे।
‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं’, मन्त्री पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ। आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ।’ नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको मन्त्री पुनको स्पष्टोक्ति थियो । सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक(निजी-साझेदारी) मार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास मन्त्री पुनले व्यक्त गरे।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास स्मरण गर्दै दुई छिमेकी मुलुकको राम्रो मित्रता रहेको बताए। सम्मलेन सम्बोधन गर्दै सोङले नेपाल र चीनबीच पारस्पारिक सहयोगमा काम भइरहेको उल्लेख गरे।
'चीनले नेपालको सामाजिक तथा आर्थिक विकासमा ठूलो लगानी उपलब्ध गराउँदै आएको छ। नेपालमा लगानीका लागि राम्रो अवसर पनि छ। यो लगानी सम्मेलनले नेपालको विकासमा नयाँ अवसर थप्ने छ,' उनले भने।
भविष्यमा यस्तो सहयोग निरन्तर रहिरहने उनले बताए। लगानी सम्मेलनको सफलताका लागि उनले शुभकामना पनि दिए।
सम्मेलनको लागि ५५ देशबाट लगानीकर्ताहरू नेपाल आएका छन्। सरकारले करिब नौ खर्ब लागत बराबरका १५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ।