चैत महिनामा पनि अन्तर्राष्ट्रिय व्यापारमा सुधार आउन सकेको छैन।
महिनागत तथ्यांकमा चैत महिनामा गत वर्षको तुलनामा आयात र निर्यात दुवै घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार चैत महिनामा एक खर्ब ३७ अर्बको वस्तु आयात भएको छ। जबकी २०७९ को चैत महिनामा एक खर्ब ४३ अर्बको वस्तु आयात भएको थियो।
चैत महिनाको आयात मात्रै गत वर्षको सोही अवधिको तुलानमा ४ प्रतिशतले गिरावट आएको छ।
चालु वर्षको नौ महिनाको समग्र आयातमा आएको कमी भने २.८४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७९/८० को नौ महिनामा १२ खर्ब एक अर्ब रूपैयाँको सामान आयात भएको थियो।
चालु वर्षको यसै समयमा ११ खर्ब ६७ अर्ब रूपैयाँको सामान आयात भएको छ।
नौ महिनाको अवधिमा निर्यात एक खर्ब पुगेको छ। निर्यात पनि गत वर्षको तुलनामा घटेको छ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा एक खर्ब चार अर्ब ७९ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो। चालु वर्षको नौ महिनामा भने एक खर्ब ६१ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
चैत महिनामा मात्रै भएको निर्यात पनि गत वर्षको तुलनामा घटेको छ। २०७९ चैत महिनामा १३ अर्ब ४८ करोडको निर्यात भएको थियो। २०८० चैत महिनामा भने १३ अर्ब ३२ करोड रूपैयाँको निर्यात भएको छ।
आयात निर्यात दुवै घट्दा समग्र व्यापार २.९२ प्रतिशतले घटेको छ। त्यस्तै व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ।