प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको लगानी सुरक्षाको लागि सरकार गम्भीर रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्रीले निजी क्षेत्रलाई त्रसित हुन नदिन र लगानी सुरक्षित गर्न आफू केन्द्रित भएको बताएका हुन्।
'तपाईंहरूलाई थाहा नहुनसक्छ, निजी क्षेत्र त्रसित नहोस् भनेर मैले आफ्नो ठाउँबाट सकारात्मक काम गरेको छु। कतिपय अवस्थामा मैले चासो नराखेको भए समस्या बढ्न सक्थ्यो,' उनले भने।
निजी क्षेत्रको समस्या नै सरकारको समस्या भनेर काम गरिरहेको समेत उनले बताए।
लगानी सम्मेल अघि लगानी सम्बन्धी ऐन संशोधन हुने उनको भनाइ छ।
प्रक्रियाबाट गर्ने भनेर कानुन सुधारको काममा ढिलाई गर्ने छुट नभएको उनले बताए। उनले एक मुष्ठ कानुन संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएको समेत बताए।
प्रधानमन्त्रीले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर रहेको पनि उल्लेख गरेका छन्। निजी क्षेत्रको सहकार्यबाट नै अर्थतन्त्र सुधार हुने उनको भनाइ छ।
सरकार पुनर्गठनपछि सरकार आर्थिक सुधारमा क्रियाशील भएको उनले बताए। निजी क्षेत्रलाई सुरक्षित राख्न आफ्नो तहबाट काम गरिरहेको समेत उनले बताए।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अघि बढि रहेको बताए। उनले गतिशील अर्थतन्त्रको निर्माण गर्न निजी क्षेत्रसँग सरकार हातेमालो गर्न चाहेको बताए।
समग्र अर्थतन्त्रमा उद्योग तथा वाणिज्य क्षेत्रको योगदान बढाउने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ छ।
लगानी-मैत्री वातवरण बनाउन सरकारले कानुन सुधारको काम गरिरहेको उनको भनाइ छ।