अर्थमन्त्री वर्षमान पुनले धेरै राजस्व उठाउने लक्ष्यले निजी क्षेत्रले दुःख पाएको र आतंकित भएको बताएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधरणसभामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
'निजी क्षेत्र आज किन आतंकित छ भने हामीले ४१ प्रतिशत राजस्व उठाउने भनेर लक्ष्य तोक्यौँ, कार्यालय प्रमुखहरूलाई त्यहीअनुसार जिम्मेवारी दियौँ,’ अर्थमन्त्री पुनले भने, 'अहिलेसम्म कहिले नराखिएको लक्ष्य कि पूरा गर्नु पर्यो कि सरूवा हुन पर्यो अहिले बढी राजस्व उठाउन चाहिने/नचाहिने फाइल हेर्न थालेपछि निजी क्षेत्र आतंकित भयो।'
सरकारले चालु आर्थिक वर्षमा राजस्वको लागि राजस्वको अनुमान गर्दा गत वर्षको भन्दा ४१ प्रतिशतले बढी गरेको छ। हालसम्म अधिकतम ३२ प्रतिशत राजस्व बढेको थियो। चालु वर्षमा भने ९ प्रतिशतको मात्रै वृद्धिदर छ।
अर्थमन्त्री पुनले नीतिगत स्थिरताको कारणले मात्रै निजी क्षेत्रमा लगानी गर्ने वातवरण सिर्जना हुने भएकोले सरकारले नीतिगत स्थिरताको लागि काम गरेको दाबी गरे।
सिमेन्टमा आत्मनिर्भर हुनु, ऊर्जा उत्पादन बढ्नु नीतिगत स्थिरताको लाभ भएको उनको भनाइ छ।
उनले आगामी वर्षमा आइटी क्षेत्रबाट लाभ उठाउन सकिने बताए।
'अहिले अनौपचारिक रूपमा डेढ खर्बसम्मको आइटी, आइसिटी निर्यात हुन्छ भनिएको छ, आगामी पाँच वर्षमा पाँच खर्बको निर्यात गर्न सकिन्छ, यसको लागि हामीले १० वर्षलाई नीतिगत स्थिरता दिनु पर्छ,' पुनले भने।
अर्थमन्त्री पुनले आगामी वर्षमा करका दर र दायरा विस्तार गर्दा कारणसहित गरिने प्रतिवद्धता गरेका छन्।
अर्थमन्त्री पुनले अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने प्रतिवद्धता गरे। उनले मन्त्रिपरिषद् पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको जानकारी निजी क्षेत्रलाई गराएका छन्।
गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने उनको भनाई छ।
राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताए। आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट आफूले प्रतिबद्धता जनाउन सक्ने मन्त्री पुनको भनाइ थियो ।