प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेस्रो लगानी सम्मेलन २०२४ का सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा कार्यान्वयन साझेदार संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका छन्।
आगामी वैशाख १६ र १७ मा आयोजना हुने सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोग अपेक्षा गरेको बताए।
'लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू सोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्वान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाह हुनेछ भन्ने सरकारले विश्वास लिएको छ,' प्रधानमन्त्रीले भने।
'सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध छ। लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिनेछ,' उनले थपे।
उनले सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्ति (रियलाइजेसन) मा निर्भर हुने बताए।
लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत् विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे।
कूटनीतिक नियोग, दातृनिकाय तथा लगानीकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै नेपाललाई लगानीकर्ताको मुख्य छनौटको गन्तव्य बनाउन पहल गरिएको उनको भनाइ छ।
छलफलमा मुख्य सचिव बैकुण्ठ अर्यालले द्विपक्षीय लगानी समझदारीको फ्रेमवर्क मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी गराए। सम्मेलनमा सोकेस हुने परियोजनाहरूको सूची र विवरण छिट्टै सार्वजनिक गरिने पनि बताए।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आगामी लगानी सम्मेलनको तयारी, संशोधन हुन लागेका कानुनहरू तथा सम्मेलनमा सोकेसमा हुने परियोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
सम्मेलनले नीति निर्माता, निजी क्षेत्र, लगानीकर्ता, विकास साझेदार, ऋणदाता, विकास वित्त प्रदायक, बैंक तथा वित्तीय संस्था, विज्ञ लगायतलाई एकै ठाउँमा ल्याउने हुँदा विदेशी तथा स्वदेशी लगानीकर्ता तथा अन्य सहभागीहरूका लागि नेटवर्किङ गर्ने, लगानी सम्भाव्यता पहिल्याउने र लगानीसम्बन्धी समझदारी/सम्झौता गर्न उपयुक्त प्लेटफर्म प्रदान उनले बताए।
राजदूत र विकास साझेदार संस्थाका प्रतिनिधिहरूले कानुन संशोधनका व्यहोरा, परियोजनाका विवरण तथा द्विपक्षीय लगानी संरक्षण सम्झौता जस्ता विषयमा चासो राखेका थिए। उनीहरूले सम्मेलनको पूर्ण सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए।