उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार निजी क्षेत्रको प्रवर्द्धन हुने कार्यक्रममा केन्द्रित भएको बताएका छन्।
निजी क्षत्रका कतिपय प्रतिनिधिहरूले सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएको सन्दर्भमा उपप्रधानमन्त्री श्रेष्ठले भने सरकार निजी क्षेत्रको रक्षा र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएका हुन्।
मंगलबार नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले आर्थिक समृद्धिलाई प्रमुख कार्यभार सम्झिएर सरकारले काम गरिरहेको बताए।
आर्थिक विकासको लागि सरकारले केही सोच परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। उपप्रधानमन्त्री श्रेष्ठले रेमिटेन्स, भन्सार राजस्व र विदेशी सहयोगको जगमा अर्थतन्त्र चलाउने सोच अब त्याग्नु पर्ने बताए। उनले पुँजी निर्माण हुने क्षेत्रमा लगानी बढाएर आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको नीतिअनुसार काम गर्न आवश्यक रहेको बताए।
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले बजेट यथार्थपरक हुन नसकेको भन्दै यथार्थपरक बनाउने र बनाइएको बजेट कार्यान्वयन गर्न आग्रह गरे। उनले अद्यावधिक योजना र बजेटमा समेत तालमेल नमिलेको भन्दै यस्तो तालमेल मिलाउने गरी नीति ल्याउनु पर्ने बताए।
'हामी १६ औं पञ्चवर्षीय योजनाको तयारीमा छौं। पञ्चवर्षीय योजनासँग वार्षिक बजेटका कार्यक्रम र बजेटसँग मौद्रिक नीति नमिल्ने गरी काम भएको छ, नीतिहरूबीच तालमेल आवश्यक छ,' मल्लले भने।
उनले अहिले बैंकमा लगानी योग्य पुँजी भएर पनि लगानी हुन नसक्नुको कारण पत्ता लगाउनु पर्ने बताए। चालु पुँजी कर्जा व्यवहारिक हुन नसकेको, विचाराधिन कानुनहरू संशोधन नहुँदा लगानीको वातावरण बढ्न नसकेको लगायतका समस्या अर्थतन्त्रमा रहेको उनले बताए।
अहिले लगानी विस्तारको लागि सेयर कर्जा र घर कर्जाको जोखिम भार घटाउन पर्ने बताए। १५० प्रतिशत जोखिम भार रहेको सेयर र घरजग्गाको जोखिम भार राष्ट्र बैंकले घटाएर १२५ प्रतिशत कायम गरेको छ। चेम्बर अध्यक्ष मल्लले १०० प्रतिशत कायम गर्नुपर्ने बताए।
चेम्बर वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले लामो समयेदेखि अर्थतन्त्र शिथिल भएको भन्दै यसको उपचारमा ध्यान दिनुपर्ने बताए।
चेम्बरले ७३ औं वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अवार्ड समेत प्रदान गरेको छ।
चेम्बर एक्सिलेन्स लिडरसिप अवार्ड निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई दिइएको छ। त्यस्तै ईश्वरलाल लाइफ टाइम एचिभमेन्ट अवार्ड दुग्ध व्यवसायी हेरम्बबहादुर राजभण्डारीलाई दिइएको छ।
जुद्धबहादुर श्रेष्ठ मेमरियल अवार्ड नेशनल एक्सपोर्टका निर्देशक चन्द्रबहादुर थापालाई दिइएको छ।
वनमरीलाल मित्तल अवार्ड पर्यटन व्यवसायी योगेन्द्र शाक्य, राजबहादुर चिपालु मेमरियल अवार्ड कृषि व्यवसायी दिपकप्रसाद तिमिल्सिना, इन्द्रभक्त मेमरियल अवार्ड उद्योगी शिवरतन शाहलाई दिइएको छ।
त्यस्तै बालकृष्ण श्रेष्ठ मेमरियल अवार्ड तिलगंगा आँखा अस्पताल र जनकदास श्रेष्ठ मेमरियल अवार्ड कपिला भ्याली सेवा समाजलाई दिइएको छ।
चेम्बरले उत्कृष्ठ काम गर्ने जिल्ला चेम्बरतर्फ झापा चेम्बर अफ कमर्सलाई सम्मान गरेको छ भने चेम्बरमा २५ वर्षदेखि कार्यसमितिमा वा कर्मचारीको रूपमा काम गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।