लगानी बोर्डसँगको सहकार्यमा नेपाली दूतावास, बेइजिङ तथा हङकङ छङ्दू र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले चीनका विभिन्न सहरमा तेस्रो लगानी सम्मेलनको प्रि इभेन्टसम्बन्धी सेमिनार आयोजना गरेको छ।
मार्च २३ देखि २९ सम्म पाँच वटा छुट्टाछुट्टै सेमिनार आयोजना गरिएको हो। यसमा बोर्डले पनि सहभागिता जनाएको थियो।
आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि चिनियाँ सरकारी निकायहरू, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरू तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित गरी सेमिनार आयोजना गरिएको बोर्डले जनाएको छ।
कार्यक्रममा लगानी सम्मेलनको उद्देश्य, लगानी वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयास, लगानीका अवसर र सम्भाव्य परियोजनाका बारेमा जानकारी दिइएको थियो।
२३ मार्चमा हङकङस्थित महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुति राखेका थिए।
बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले लगानीका अवसर र सम्मेलनको विषयमा प्रस्तुति राखेका थिए। उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानीका लागि आग्रह गरेका थिए।
२५ मार्चमा छेङ्दुस्थित महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको वातावरण, अवसर बारे उल्लेख गरे।
सार्वजनिक, निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न बोर्डको प्रयासका बारेमा पनि उनले जानकारी दिएका थिए।
२६ मार्चमा आयोजित प्रि इभेन्ट सेमिनार कार्यक्रममा नारायणकाजी श्रेष्ठले नेपालमा रहेका तुलनात्मक र प्रतिस्पधात्मक लाभका क्षेत्रमा लगानी गर्न आग्रह गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगानी सम्मेलन नेपालमा लगानीको वातावरण र अवसरको विषयमा जानकारी लिने उपयुक्त अवसर भएको बताए। चिनियाँ लगानीकर्तालाई सहभागीताका लागि उनले अनुरोध गरे।
चिनियाँ अधिकारीहरूले नेपालमा लगानी गर्दाका अनुभव साटेका थिए।