प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत साउन महिनामा निर्धारण गरेका लक्ष्यहरूअनुसार काम हुन नसकेको बताएका हुन्।
उनले योजना तथा कार्यक्रमहरू निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताए।
उनले मनोगत ढंगबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताए।
प्रधानमन्त्री दाहालले अर्थमन्त्री प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रूपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताए।
उनले माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको अवस्था रहेको बताए।
उनले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरू नै हुन नसक्नुले सरकारको कार्य क्षमतामाथि नै प्रश्न उठेको बताए।
उनले भने, ‘हाम्रा प्रतिबद्धताहरू अर्को ठाउँमा छन्। हामीले गएको साउन महिनामा आफैंले तयार पारेका माइलस्टोनहरू जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो। त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौं। अलि बढी मनोगत भयो। ती माइलस्टोनहरू अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनुपर्ने, घटाउनुपर्ने स्थिति देखापरेको छ।’
प्रधानमन्त्री दाहालले माघसम्म कुल राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए।
उनले पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको भएको भन्दै पुँजी निर्माण नभई विकासले गति नलिने स्पष्ट पारे।
उनले सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गरे।
आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको बताए।—न्युज एजेन्सी नेपाल