चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब बजेट खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको छ।
मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको लागि ल्याइएको बजेटको ८७ प्रतिशत मात्रै खर्च हुने अनुमान अर्थमन्त्री प्रकाशशरण महतले गरेका छन्।
अर्थमन्त्री महतले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेका थिए।
जसमा चालु खर्चको लागि ११ खर्ब ४१ अर्ब, पुँजीगत खर्चको लागि तीन खर्ब दुई अर्ब र वित्तीय व्यवस्थापनको लागि तीन खर्ब सात अर्ब विनियोजन गरिएको थियो।
१२ खर्ब २ अर्ब मात्रै राजस्व उठ्ने अनुमान गरिएको छ। यो वर्ष १४ खर्ब २२ अर्बको राजस्व उठ्ने अनुमान गरेकोमा अनुमानको ८४ प्रतिशत मात्रै राजस्व उठ्ने देखिएको अर्थमन्त्री महतले बताए।
व्यवसायको प्रकृति परिवर्तन नहुँदा राजस्वमा अपेक्षित नआएको उनले बताए।
'नयाँ प्रविधिमा व्यवसाय गएको छ, हाम्रो ट्याक्स पोलिसीलाई सोहीअनुसार ढाल्न नसकेको कारण पनि अपेक्षित राजस्व उठ्न सकेको छैन,' महतले भने।
६ महिनाको अवधिमा पुँजीगत खर्च उल्लेखनीय नभए पनि अब सुधार आउने उनले बताए। नियम कानुनहरू द्रुत गतिमा अघि बढाएको उनको भनाइ छ।
बहुवर्षीय ठेक्का मापदण्ड तय गरेर काम गरेको बताउँदै अर्थमन्त्री महतले अबका दिनमा बहुवर्षीय ठेक्कामा समस्या नहुने उल्लेख गरे।