सरकारले तेस्रो लगानी सम्मेलनको तयारी तीव्र बनाएको छ।
लगानी सम्मेलन पूर्व गर्नुपर्ने कानुनी सुधार, लगानीकर्तालाई आकर्षित गर्न ल्याउनु पर्ने 'स्किम' तथा लगानी सम्मेलनका वक्ता र लगानीकर्ताहरूलाई निमन्त्रणा गर्ने कामको लागि तयारी तीव्र बनाइएको हो।
अर्थमन्त्री प्रकाशशरण महतले यसै महिनाभित्र बोलाउनु पर्ने महत्त्वपूर्ण व्यक्ति तथा संशोधन गर्नुपर्ने नीतिहरूको मस्यौदा टुंग्याउने बताएका छन्।
तेस्रो लगानी सम्मेलन २०२४ को सचिवालयले अहिलेसम्म सम्भावित वक्ताहरूमा ९ जना व्यक्तिको नाम प्रस्ताव गरेको छ। बिहीबार गरिएको लगानी सम्मेलनसम्बन्धी निर्देशक समितिको तेस्रो बैठकमा ती नामहरू प्रस्ताव गरिएको हो।
प्रस्तावित वक्ताहरू एसिया प्यासिफिक क्षेत्रको लागि बेलायती मन्त्री यानी म्यारी ट्रिभिलियन, सिटी अफ लन्डनका मेयर माइकल मैनेली, ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सिइओ निकओ डनहऊ, युके एक्सपोर्ट फाइनान्सका सिइओ टिम रेइड रहेका छन्।
त्यस्तै, सम्भावित वक्ताहरूमा डोल्मा ग्रुपका सिइओ टिम गोचर, बजाज अटोका प्रवन्ध निर्देशक राजिव बजाज, हिन्दुस्तान युनिलिभर लिमिटेडका सिइओ रोहित जावा र हिन्दुस्तान लिवरकै कम्पनी सचिव देव बाजपाइ, युनिलिभर नेपालका सिइओ अमलान मुखर्जी रहेका छन्।