नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न कानुन संशोधन आवश्यक रहेको बताएका छन्।
बुधबार इकोनोमिक मिडिया एसोसिएसनले राखेको कार्यक्रममा अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानुन संशोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताए।
'लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानुनहरू संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ। लगानी सम्मेलन अगाडि नै यी कानुनहरू संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ,' ढकालले भने।
उनले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रहँदा रहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको बताए।
सरकारको तर्फबाट सकारात्मक सन्देश मात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फिडेन्स आउने ढकालको भनाइ छ।
उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताए।
'निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन। अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन। यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ। नकारात्मक कुराहरू निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,' उनले भने।
अध्यक्ष ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरूको आइपिओ निष्कासन गर्न अनुमति दिन आग्रह गरे।
'आइपिओमा जाने प्रक्रियामा रहेका कम्पनीहरूको आइपिओ रोकिएको छ। यो प्रक्रियामा रहेका कम्पनीहरूको आइपिओ जारी गर्न खुला गर्नुपर्छ। अहिले करिब २५/३० वटा कम्पनीहरू आइपिओमा लैजानका लागि प्रकृयाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ। यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु,' उनले भने।