रेमिटेन्समा भएको वृद्धि र आयातमा आएको कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १८ खर्ब १६ अर्ब रूपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च हो।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १३ अर्ब ६९ करोड डलर छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२ महिना तीन दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
आयात ३.१ प्रतिशतले घटेर सात खर्ब ६८ अर्ब रूपैयाँमा सीमित भएको छ। गत वर्षको यही अवधिमा सात खर्ब ९२ अर्ब रूपैयाँको आयात भएको थियो।
त्यस्तै, यो छ महिनाको अवधिमा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।
गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।