अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो निर्यातको लागि मौलिक उत्पादनमा जोड दिन सम्बद्ध व्यवसायीहरूलाई आग्रह गरेका छन्।
आर्थिक वृद्धि, रोजगारी सृजना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले दिगो निर्यातमा ध्यान दिन आग्रह गरेका हुन्।
निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवसलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको औंल्याए।
व्यवसायीहरूले निर्यात अनुदान लगायत सरकारले प्रतिवद्धता गरेका काम पूरा नगरेका, थप सहुलियतका काम अघि नबढाएको लगायतका गुनासो गरेको अवस्थामा महतले आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको बताए।
उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको बताए।
निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने उनको प्रतिवद्वता छ। मन्त्री महतले नेपाली उत्पादनहरू उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्ने बताए।
उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित
महासंघले उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित गरेको छ। सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएसनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएसनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएसन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट इन्द्र कुमार अग्रवाल, त्यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएसनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएसनबाट प्रसुन सत्याल रहेका छन्।
नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएसनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एसोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एसोसिएसन अफ नेपालबाट तारा बास्कोटा, फेयर ट्रेड ग्रुपबाट मिलन भट्टराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चर एसोसिएसन नेपालबाट अमिर प्रतापजंग रानालाई उत्कृष्ट निर्यात व्यवसायीका रूपमा सम्मान गरिएको छ।
त्यस्तै नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एसोसिएसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, नेपाल ब्रुम एसोसिएसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफ्याक्चर एसोसिएसनबाट बिष्णु मदोगदिया, नेपाल डेरी एसोसिएसनबाट निराजन कोइराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एसोसिएसनबाट बोधराज अर्याललाई पनि सम्मान गरिएको छ।