अर्थ मन्त्रालयका सचिवहरूले भन्सारका कर्मचारीहरूलाई दबाबमा काम नगर्न आग्रह गरेका छन्।
शुक्रबार भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरी पुष्कर र राजस्व सचिव रामप्रसाद घिमिरेले भन्सार कर्मचारीलाई कानुनको अधिनमा बसेर काम गर्न तर दबाबको भरमा निर्णय नलिन निर्देशन दिएका हुन्।
राजस्व सचिव घिमिरेले कुनै पनि निकायबाट दबाब आएमा मन्त्रालयमा रिपोर्टिङ गर्नको लागि समेत आग्रह गरे।
‘तपाईंहरू कानुनको अधिनमा रहेर काम गर्ने हो, कसैले अनैतिक दबाब दिन्छ भने त्यस्तो दबाब मन्त्रालयमा रिपोर्टिङ गर्नु होला,’ सचिव घिमिरेले भने।
उनले भन्सार सुधारको लागि एक अन्तर निकाय समन्वयनमा ध्यान दिन आग्रह गरे। भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा राजस्व अनुसन्धान विभागबिच आपसी समन्वयन मजबुत बनाउनु पर्ने उनले बताए।
अर्थ सचिव कृष्णहरी पुष्करले अनौपचारिक अर्थतन्त्र बढी देखिएको सन्दर्भमा सबै निकाय चनाखो बन्न आवश्यक रहेको बताए।
उनले यस्तो अर्थतन्त्र कम गर्नको लागि अर्थ मन्त्रालयले सूक्ष्म निगरानीको गरिरहेको बताए।
‘अहिले ४०/४२ प्रतिशत अर्थतन्त्र अनौपचारिक भएको रिपोर्ट आएको छ, यहाँ कि हाम्रो कमजोरी छ, कि व्यवसायीहरूको कमजोरी छ,’ सचिव पुष्करले भने ‘हामी यसलाई कम गर्न सूक्ष्म निगरानी गर्न गइरहेका छौँ।’
उनले समग्र कर प्रणाली र भन्सार सुधारको लागि भन्सार प्रशासन र व्यवसायी दुवै इमान्दार हुनु पर्ने बताए।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारको प्रमुख काम व्यवसायी सहजीकरण भएको भन्दै सोही अनुसार काम गरिएको बताए।
उनले सुधारको कामलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन्। महानिर्देशक पौडेलले व्यावसायिक इमानदारिता कायम हुन सकेन कारोबार मूल्यका आधारमा महसुल निर्धारण गर्न सकिने बताए।
अहिले भन्सार कार्यहरूले सन्दर्भ मूल्य सूचीको आधारमा भन्सार महसुल लिँदै आएका छन्।
तर, व्यवसायीहरूले कारोबार मूल्यका आधार भन्सार उठाउन आग्रह गर्दै आएका छन्।